सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा एक हजार ४६० जना फरार कैदीबन्दीलाई पक्राउ गरेको छ ।

विभिन्न आपराधिक घटनामा संलग्न हुनुका साथै अदालत र जिल्ला प्रशासन कार्यालयबाट कैद सजाय र जरिवाना गरी फरार रहेका प्रतिवादीलाई पक्राउ गरी कारबाही भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदम विष्टले चालु आवको नौ महिना (चैत मसान्त) सम्म एक हजार ४६० फरार कैदीबन्दीलाई पक्राउ गरी कारागारसमेत चलान गरिएको बताए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार यो अवधिमा सबैभन्दा बढी फरार कैदीबन्दी कैलालीबाट ७३२ र तराईको अर्को जिल्ला कञ्चनपुरबाट ४१० जना पक्राउ गरिएको छ ।

प्रवक्ता विष्टका अनुसार प्रदेशको डडेल्धुराबाट १०१, डोटीबाट १२, अछामबाट ४३, दार्चुलाबाट ७३, बैतडीबाट नौ, बझाङबाट ५८ र बाजुराबाट २२ फरार कैदीबन्दी पक्राउ परेका छन् ।

‘लामो समयदेखि कैद सजाय भएका फरार प्रतिवादी पक्राउ गर्न यहाँका नौ वटै जिल्लामा प्रहरी टोली परिचालित छ’, उनले भने, ‘जेजनी आन्दोलनका बेला कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न प्रहरी सबैतिर सक्रिय छ ।’

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका कारागारबाट कुल एक हजार ४५८ कैदीबन्दी फरार भएका प्रवक्ता विष्टले जानकारी दिए ।

तीमध्ये एक हजार १२० जना पक्राउ परेका छन् । तीन सय ३८ जना अझै फरार छन् । कारागारबाट भागेका अधिकांश कैदीबन्दी भारत गएर लुकेर बसेको हुनसक्ने प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा प्रहरीले फरार कैदीबन्दी पक्राउ गर्न विशेष अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले एक सातायता फरार प्रतिवादी ७६ जना पक्राउ गरिएको बताए । ‘पक्राउ परेकामध्ये अधिकांश लागुऔषध मुद्दाका छन्’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =