युक्रेन र इरान द्वन्द्व अन्त्य हुनसक्ने राष्ट्रपति ट्रम्पको सङ्केत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेन र इरानमा जारी द्वन्द्वहरू समान समयसीमाभित्र अन्त्य हुन सक्ने सङ्केत गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ता पश्चात् बुधबार राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् ।
ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले पुटिनसँगको वार्ता निकै सकारात्मक रहेको जानकारी दिए । उनकाअनुसार उक्त वार्ता मुख्यतया विगत केही वर्षदेखि जारी रुस–युक्रेन युद्धमा केन्द्रित थियो भने इरानको विषयमा पनि संक्षिप्त छलफल भएको थियो ।
यसैबीच, मस्कोबाट प्राप्त विवरणहरूका अनुसार राष्ट्रपति पुटिनले मे ९ मा मनाइने दोस्रो विश्वयुद्धको विजय उत्सव (भिक्ट्री डे) को अवसर पारेर अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन् ।
दुई राष्ट्रप्रमुखबीचको यस संवादलाई विश्व राजनीतिमा जारी तनाव कम गर्ने एक महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।








