निर्वाचनको पराजयबाट पाठ सिकेर एमालेलाई पुनर्गठित गर्छौंः उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पछिल्लो निर्वाचन परिणामलाई पार्टीका लागि गम्भीर धक्काका रूपमा स्वीकार गर्दै नयाँ ढङ्गले पुनर्गठन गर्ने घोषणा गरेका छन् ।
बुधबार आयोजित २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले फागुन २१ गतेको निर्वाचन परिणामबारे पार्टीभित्र गम्भीर समीक्षा गरिने बताएका हुन् । विगत १० वर्षमा उल्लेखनीय सफलता हासिल गरेको एमालेले अहिले ठूलो पराजय व्यहोर्नुपरेकाले यसले नयाँ चुनौती खडा गरेको उनको भनाइ छ।
“यस पटक अत्यन्तै नराम्ररी पराजित भएका छौँ, गम्भीर धक्का र असफलता व्यहोर्नुपरेको छ,” पौडेलले भने, “तर यही असफलताबाट शिक्षा लिएर हामी फेरि उठ्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ ।”
उनले पार्टीभित्र देखिएको निराशा र पलायन प्रवृत्तिले समस्या समाधान नगर्ने उल्लेख गर्दै कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ सङ्गठन निर्माणमा जुट्न आह्वान गरे । साथै, उग्रवामपन्थी र दक्षिणपन्थी अवसरवादबाट सचेत रहनुपर्नेमा पनि जोड दिए ।
पौडेलले पार्टीले आफ्ना कमजोरीहरू स्वीकार गर्दै समग्र समीक्षा गर्ने, नीति, विचार र कार्यशैलीलाई अद्यावधिक तथा परिमार्जन गर्ने स्पष्ट पारे । “हामीले किन सफलता पायौँ र किन यस्तो धक्का व्यहोर्नुपर्यो भन्ने सबै पक्षको समग्र समीक्षा गरेर नयाँ ढङ्गले आन्दोलनलाई पुनर्गठित गर्छौँ,” उनले भने ।
उनका अनुसार आगामी दिनमा जनताको बहुदलीय जनवादको मार्गनिर्देशनमा रहेर पार्टीलाई अघि बढाइनेछ । सो सिद्धान्तलाई अहिलेको असफलताबाट उठ्ने सबैभन्दा बलियो आधारका रूपमा उनले व्याख्या गरे ।
यस्तै, वर्तमान सरकारले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत अध्यादेशको बाटो रोजेको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि उनले उल्लेख गरे ।








