देउवा समूहका भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसमा सहमति

काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका रूपमा भीष्मराज आङदेम्बेलाई चयन गर्ने सहमति जुटेको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले आङदेम्बेको नाममा सहमति कायम गरेको हो ।

पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले आफ्नो दाबी फिर्ता लिएपछि आङदेम्बेको नाम सर्वसम्मत रूपमा अघि बढाइएको एक पदाधिकारीले जानकारी दिएका छन् । यसअघि केसीसँगै सांसदहरू मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिर्दोष आलाम र चन्द्रमोहन यादवले पनि दलको नेतामा दाबी गरेका थिए ।

आङदेम्बे पार्टीका पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद हुन् । आज बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति गगन थापाले उनको नाम सर्वसम्मत अनुमोदनका लागि प्रस्ताव गर्ने तयारी गरेका छन् ।

कार्यसम्पादन समितिबाट अनुमोदन भएपछि दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले औपचारिक रूपमा दलको नेता चयन गर्नेछ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दलको नेतामा सहमति जुटिसकेको पुष्टि गरेका छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सभापति थापासहित शीर्ष नेताहरू पराजित भएपछि समानुपातिक सांसद आङदेम्बेलाई नेतृत्वमा आउने अवसर खुलेको हो । पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्रीमा निर्वाचित भएका आङदेम्बे पछिल्ला राजनीतिक घटनाक्रममा स्वतन्त्र र सन्तुलित भूमिकामा देखिँदै आएका थिए ।

देउवा र शेखर कोइराला समूहबीच समदूरी कायम गर्दै आएका आङदेम्बे पछिल्लो समय संसद्मार्फत सभापति थापाको धारसँग नजिक देखिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले आफू कुनै समूहको लेबलभन्दा बाहिर रही सभापतिको सोचअनुसार अघि बढ्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =