अव्यवस्थित अभ्यासको हास्य कथा, ‘ग्रान्ड रिहर्सल’ को मञ्चन सुरु (तस्बिरहरु)

काठमाडौँ। मण्डला थिएटर नेपालमा बेलायती रंगमञ्च समूह ’मिस्चिफ थिएटर’ का हेनरी लुइस, जोनाथन सेयर र हेनरी शिल्ड्स द्वारा लिखित हास्य शैलीबाट प्रेरित नाटक ’ग्रान्ड रिहर्सल’ को वैशाख ११ गतेदेखि नियमित मञ्चन सुरु भएको छ।

यो नाटकलाई नेपाली परिवेशमा रूपान्तरण गर्दै रंगकर्मी अनुप न्यौपाने र उमेश तामाङले स्थानीय स्वाद दिएका छन्।

नाटकको मूल केन्द्र ‘अभ्यास’ हो, तर यहाँ अभ्यास क्रमशः नियन्त्रण बाहिर जान्छ। सुरुमा व्यवस्थित देखिने अभ्यास, सानो गल्तीबाट क्रमशः अव्यवस्थित बन्दै जान्छ।

नाटकको बिचबिचमा संवाद बिर्सने, कलाकारबीच तालमेल नमिल्ने, मञ्चका सामग्री बिग्रिने, भत्किने र दृश्यहरू रोकिदै जाने क्रमसँगै दर्शकहरु हाँसो रोक्न नसक्ने स्थितिमा पुग्छन्।

कलाकारहरूको गम्भीर प्रयास र त्यसैबीच हुने अप्रत्याशित गडबडीबीचको द्वन्द्वले नै यो नाटकलाई जीवन्त बनाएको छ।

नाटक ‘ग्रान्ड रिहर्सल’ ले, “मञ्चमा देखिने परिपूर्णताभन्दा बाहिर, कलाकारहरूको संघर्ष, गल्ती र त्यसलाई सम्हाल्ने प्रयास पनि कला नै हुन्“ भन्ने देखाउन खोजेको छ।

यहाँ गल्ती लुकाइँदैन, बरु त्यही गल्तीलाई प्रस्तुत गरेर हास्य सिर्जना गरिन्छ। त्यसैले यो नाटक केवल मनोरञ्जन मात्र होइन, रंगमञ्चको भित्री यथार्थलाई रमाइलो तरिकाले उजागर गर्ने प्रयास पनि हो।

नाटकभित्रको नाटक शैलीमा प्रस्तुत गरिएको यसनाटकलाई रंगकर्मी उमेश तामाङले निर्देशन गरेका छन्।

जेठ ३ गतेसम्म मञ्चन हुने यो नाटकमा कलाकारहरु अनुप न्यौपाने, मिलन कार्की, सुदीप खतिवडा, रुजा राउत, रक्षा थापा, सन्तोष गिरी, श्रीशेष श्रेष्ठ, अमिर ताम्राकार, सुजन घिमिरे, बलबहादुर राई र राजाबाबु कार्कीले अभिनय गरेका छन्।

करिब १ घण्टा ३० मिनेट लामो यो नाटक सोमबार बाहेक हरेक साँझ ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे अतिरिक्त शो मञ्चन हुनेछ।

तस्बिरहरुः–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =