सिंजा सभ्यता र कनका सुन्दरी भगवतीः उपेक्षित धरोहरप्रति हाम्रो दायित्व

नेपालको इतिहास बहुपरतीय, समृद्ध र गौरवशाली छ । यही इतिहासभित्र गहिरो रूपमा जरा गाडेर बसेको एउटा महत्वपूर्ण सभ्यता हो, सिंजा उपत्यका केन्द्रित खष सभ्यता । यही सभ्यताको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेको एक अमूल्य धरोहर हो कनका सुन्दरी भगवती मन्दिर, जसलाई खष समुदायले आफ्नो कुलदेवीका रूपमा उच्च श्रद्धाका साथ पूज्दै आएका छन् । तर विडम्बना, यति महत्वपूर्ण सम्पदा आज पनि राज्यको पर्याप्त ध्यानबाट टाढा, ओझेलमा परेको छ ।
इतिहासलाई केलाउँदा, सिंजा राज्य कुनै सामान्य राज्य थिएन । यो खष साम्राज्यको केन्द्र थियो, जहाँबाट शासन, प्रशासन र सांस्कृतिक अभ्यासहरू सञ्चालन हुन्थे । त्यही राज्यका राजाहरूले कनका सुन्दरी भगवतीलाई आफ्नो कुलदेवी मानेर नियमित पूजा गर्ने गर्थे । ‘कनक’अर्थात् सुन र ‘सुन्दरी’ अर्थात् अति सुन्दर, यी दुई शब्दको संयोजनले बनेको नामले नै देवीको गरिमा र महत्व प्रष्ट पार्छ । आज पनि देवकोटा र काफ्ले थरका ब्राह्मणहरूले निरन्तर पूजा गर्दै आएको यो परम्परा आफैंमा जीवित इतिहास हो ।
धार्मिक विश्वासका आधारमा, यस मन्दिरमा मागिएका मनोकामना पूरा हुने जनविश्वास छ । यही कारणले विजया दशैँ जस्ता पर्वहरूमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म चल्ने पूजा–अर्चना र चैते दशैंका अवसरमा हुने भीडभाडले यो स्थानको सांस्कृतिक जीवन्तता झल्काउँछ । तर यस्तो जीवन्त परम्परा बोकेको स्थान भौतिक रूपमा भने क्रमशः जर्जर र उपेक्षित बन्दै जानु दुःखद कुरा हो ।
सिंजा राज्यको विभाजनसँगै सुरु भएको ओझेलको यात्रा आजसम्म पनि जारी छ । चौबीसे र बाइसे राज्यको स्थापना भएपछि यो क्षेत्र राज्यको प्राथमिकताबाट बाहिर पर्दै गयो । अझ आश्चर्य लाग्दो कुरा के छ भने, कम ऐतिहासिक महत्व भएका स्थानहरू आज अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउने प्रयासमा छन्, केही त विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेका छन् । तर सिंजा उपत्यका जस्तो ऐतिहासिक केन्द्र अझै पनि उपेक्षाको सिकार हुनु हाम्रो नीतिगत कमजोरीको स्पष्ट संकेत हो ।
पुरातत्त्व विभाग जस्ता निकायहरूबाट समय–समयमा अनुगमन भए पनि संरक्षणका लागि ठोस कदम चालिएको देखिँदैन । केवल निरीक्षण गरेर फर्किने प्रवृत्तिले इतिहास जोगिँदैन । संरक्षणका लागि दीर्घकालीन योजना, बजेट र स्थानीय सहभागिता अनिवार्य हुन्छ ।
आजको पुस्ताको दायित्व अझ ठूलो छ । सिंजा सभ्यता अतीतको कथा मात्रै होइन् यो हाम्रो पहिचान, हाम्रो जरा हो । यदि हामीले यसलाई जोगाउन सकेनौँ भने हामीले आफ्नै इतिहास हराउनेछौँ । त्यसैले, कनका सुन्दरी भगवती मन्दिर, दरबार क्षेत्र, शिलालेख, ढुङ्गेधारा र अन्य सम्पदाको संरक्षण केवल सरकारी काम मात्र होइन, सामूहिक जिम्मेवारी पनि हो ।
विकास भनेको नयाँ संरचना बनाउनु मात्र होइन, पुराना धरोहरको संरक्षण पनि उत्तिकै आवश्यक छ । सिंजा उपत्यका र कनका सुन्दरी भगवती जस्ता सम्पदाहरूलाई संरक्षण र प्रवद्र्धन गर्न सकिएमा यसले हाम्रो इतिहास जोगाउँछ, पर्यटन र स्थानीय अर्थतन्त्रलाई पनि सुदृढ बनाउँछ ।








