तीन ब्याटर चम्कँदा नेपाल ‘ए’ को फराकिलो जित

काठमाडौँ । तीन ब्याटरको अर्धशतक प्रेरणामा नेपाल ‘ए’ क्रिकेट टोलीले ओमानसँगको दोस्रो एकदिवसीय खेलमा जितसँगै श्रृंखला बराबरी गरेको छ ।
मूलपानी शुक्रवार भएको दोस्रो एकदिवसीय खेलमा ब्याटिङमा साथ पाउँदा नेपाल ‘ए’ ले ओमानमाथि ११५ रनको जित निकाल्दै दुई खेलको श्रृंखलामा बराबरी गरेको हो ।
अनिलकुमार साहको कप्तानी रहेको नेपाल ‘ए’ ले पहिलो खेल ७० रनले हार बेहोरेको थियो । तर, दोस्रो खेलमा तीन ब्याटरको अर्धशतकसँगै बलिङमा पनि साथ पाएपछि नेपाल ‘ए’ ओमानमाथि पूर्ण हाबी भयो । आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक श्रृंखला खेल्न आएको ओमानसँग नेपाल ‘ए’ को उत्कृष्ट प्रदर्शनसँगै सिनियर टोलीलाई आत्मबल बढेको छ ।
शनिवारदेखि ओमान, नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित लिग–२३ को त्रिकोणात्मक शृंखला सुरु हुँदै छ ।
लिग–२ को अंकतालिकामा शीर्ष तीनभित्र रहेको ओमानले भने हारबाट त्रिकोणात्मक शृंखला सुरु गर्ने भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ ले दुई सय ८५ रनको लक्ष्य दिएको थियो । जबाफी ब्याटिङ गरेको ओमान ३६.३ ओभरमा १६९ रनमा नै अलआउट भयो । खराब सुरुवात गरेको ओमानका लागि मध्य क्रमका ब्याटर मुजिबुर अलीले ४३ रन बनाए । यो नै सर्वाधिक ठुलो व्यक्तिगत रन रह्यो । छैटौँ ओभरमा नै पहिलो विकेट गुमाएको ओमान समालिन नै सकेन ।
पाँचौँ विकेटका लागि मुजिबुर र जितेनकुमार रामानन्दीले ४४ रनको साझेदारी गरे । यो नै सर्वाधिक ठुलो साझेदारी बन्यो ।
जितेनकुमारले २४ रन जोड्दा तल्लो क्रमका ब्याटर विनायक शुक्लाले २१ रनको योगदान दिए । कप्तान जतिन्दर सिंह १७ रन, ओपनरद्वय पृथ्वी माछी १९ र हामाद मिर्जाले १८ रन बनाए ।
नेपालको बलिङमा युवा स्पिनर युवराज खत्रीले तीन तथा हेमन्त धामी, आकाश चन्द, शेर मल्लले दुई र सन्तोष यादवले एक विकेट लिँदै ओमानको इनिङ धरासयी बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले पूरै ओभरमा सात विकेटको क्षतिमा दुई सय ८४ रनको योगफल बनाएको थियो । तीन ब्याटर देव खनाल ६४, ईशान पाण्डेले ६९ रन र कुशल मल्लले ५७ रनको अर्धशतकीय योगदान दिए । सुरुमा नै दुई विकेट गुमाएपछि नेपालको सुरुआत राम्रो हुन सकेन ।
ओपनर अर्जुन कुमाल १३ रन र कप्तान अनिलकुमार ७ रनमा नै आउट भए । तर, तेस्रो विकेटका लागि देव र ईशानबीच ९० रनको साझेदारी भयो । ९५ बलमा देवले पाँच चौका प्रहार गरे । त्यसपछि आएका तृतराज दास १ रनमै पभेलियन फर्किए । तर, पाँचौँ विकेटका लागि ईशान र सन्दीप जोराबीच ७० रनको साझेदारी भयो ।
जोरा ४२ रनमा आउट भए । २६ बलमा उनले समान तीन चौका र छक्का रह्यो । ईशानले सातौँ विकेटका लागि कुशल मल्लसँग ६४ रनको साझेदारी गरेपछि नेपाल राम्रो योगफलतर्प अग्रसर भएको हो । कुशलले ३२ बलमा समान चार चौका र छक्का प्रहार गरे ।
७८ बल खेलेका ईशानको इनिङमा ६ चौका रह्यो । ओमानको बलिङमा जितेनकुमारले दुई तथा सकिल अहमद, नदिम खान, शिद्धार्थ बुक्कापाटनम र वासिम अलीले समान एक विकेट लिए ।








