राष्ट्र निर्माण केवल सरकारको मात्रै काम होइन: नारायणप्रसाद दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्र निर्माणको कामलाई सरकारको मात्रै काम हो भनेर बुझ्न नहुने बताएका छन् ।
गैरआवासीय नेपाली संघले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष दाहालले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपाली संघबाट थप भूमिकाको अपेक्षा गरिएको पनि स्पष्ट पारे । उनले राष्ट्र निर्माणमा सबै पक्षको उत्तिकै सशक्ति भूमिका हुनुपर्ने उल्लेख गर्दै त्यसमा प्रवासी नेपालीको भूमिका अझै सशक्त हुनुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष दाहालले नेपालबाट युवा पुस्तालाई पलायन हुन नदिने कुरामा पनि सम्बन्धित पक्षले जोड दिनुपर्ने बताए ।
उनले भने ‘संघले नेपालको संविधान, ऐन, कानुनको अधीनमा रही देशको विकास र समृद्धिका लागि थप भूमिका निर्वाह गर्नेमा विश्वस्त छु । साथै देशबाट पलायन युवा शक्तिलाई नेपाल निर्माणमा प्रेरित गर्ने र आफ्नो सीप र क्षमतालाई स्वदेशमा नै उपयोग गर्न संघले सशक्त भूमिका निर्वाह गर्नेछ भन्नेमा पूर्ण विश्वास लिएको छु । राष्ट्र निर्माण केवल सरकारको काम मात्रै होइन । यो सबैको साझा दायित्व हो । जहाँ राज्यको भूमिका हुन्छ, समाजको भूमिका हुन्छ, नागरिकको भूमिका हुन्छ । बुद्धिजीवि र युवा पुस्ताको भूमिका हुन्छ । र, प्रवासी नेपाली समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।’
अध्यक्ष दाहालले राष्ट्र निर्माणको अभियानमा युवाहरूलाई प्रेरित गरेर अघि बढ्नुपर्ने पनि बताए ।








