केएमसीले चार जना बिरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले गरिब तथा असहाय चार जना विरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने भएको छ ।

केएमसीले बुधवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । केएमसीले खोटाङका १९ वर्षीय राजेश राई, मोरङका जितेन्द्र महरा तथा ताप्लेजुङका मिङ्मा खान्डु शेर्पाको निःशुल्क मिर्गौला प्रत्यारोपण प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ ।

उनीहरूलाई आवश्यक सम्पूर्ण उपचार सेवा निःशुल्क रूपमा उपलब्ध गराइनेछ । यसअघि अस्पतालले हुम्लाका नारायण लामाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरी डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

केएमसीका मिर्गौला प्रत्यारोपन विशेषज्ञ डा सुरेश महर्जनले मिर्गौला फेल भएपछिको पहिलो उपचार नै प्रत्यारोपन भएको बताए । उनले आर्थिक अभाव हुने र मिर्गौला दिने मान्छे नपाउँदा मात्रै डायलसीस गर्ने उनको भनाई छ । केमसीले हालसम्म ७१ जनाको सफल प्रत्यारोपन गरेको जानकारी दिए । ७१ मध्ये चार जना विदेशी नागरिकको प्रत्यारोपन गरेको उनले बताए ।

केएमसीका सञ्चालक डा. सुनिल शर्माले राज्यका स्वास्थ्य नीतिहरू सबै नागरिकका लागि समान रूपमा लागू हुन नसकेको बताए । संविधानले प्रत्याभुत गरेको स्वास्थ्य सेवा सबै नागरिकले समान रूपमा पाउनुपर्ने भएपनि व्यवहारमा त्यस्तो नभएको उनको भनाई छ ।

उनले ताप्लेजुङको ओलाङचुङ्गोलादेखि हुम्लाको सर्केगाडसम्मका नागरिकले समान हैसियतमा सेवा पाउनुपर्ने बताए । उनले मिर्गौला प्रत्यारोपण गर्ने विरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने सरकारी घोषणालाई सस्तो प्रचार मात्र भएको आरोप लगाए ।

उनकाअनुसार राज्यको घोषणाबाट दूरदराजका गरिब तथा लक्षित वर्ग लाभान्वित हुन सकेका छैनन् । सरकारले सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका विरामीलाई मात्रै औषधी किन्न रकम दिने गरेको प्रतिपनि असन्तुष्टी जनाए ।

सरकारी अस्पतालमा ६ देखि ८ महिनासम्मको पालो नआउने हुँदा विरामीहरुलाई थप आर्थिक भार पर्ने बताए । डा. शर्माले मिर्गौला प्रत्यारोपण जस्तो संवेदनशील विषयमा सरकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । सरकारले जुनसुकै अस्पतालमा प्रत्यारोपण गरेको भएपनि बिरामीलाई औषधि उपलब्ध गराउने जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।

डा शर्माले केएमसी अस्पतालले निःशुल्क मिर्गौला प्रत्यारोपण गरेका बिरामीले पनि औषधिका लागि ४–५ लाख रुपैयाँसम्म खर्च गर्नुपरेको बताए । उनले राज्यले तत्काल निजी तथा सरकारी सबै अस्पतालमा प्रत्यारोपण गरेका विरामीलाई औषधि उपलब्ध गराउने व्यवस्था गर्न माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 9 =