आगामी हप्ता ट्रम्पले इजरायल र लेबनानका नेताहरू भेट्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र लेबनानबीच १० दिने युद्धविरामको घोषणासँगै आगामी दुई हप्ताभित्र दुवै देशका शिर्ष नेताहरूलाई ह्वाइट हाउसमा भेट्ने कार्यक्रम रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र लेबनानी राष्ट्रपति जोसेफ आउनसँग आगामी एक वा दुई हप्ताभित्र ह्वाइट हाउसमा भेटवार्ता गर्ने बताएका हुन् ।

४४ वर्षमा पहिलो पटक हुन लागेको यस्तो भेटलाई उनले अत्यन्तै उत्साहजनक र ऐतिहासिक कदमको रूपमा चित्रण गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत इजरायल र लेबनानबीच बिहीबार साँझ ५ बजे (अमेरिकी समय) देखि लागू हुनेगरी १० दिने युद्धविराममा सहमति भएको जानकारी दिएको केही घण्टापछि यो घोषणा आएको हो ।

उनले लेबनान र इजरायलबीचको सम्झौताले हिजबुल्लाहको समस्या समाधान गर्ने विश्वाससमेत व्यक्त गरे । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको ६ बुँदे विज्ञप्ति अनुसार, युद्धविरामको समयमा इजरायलले आफ्नो आत्मरक्षाका लागि आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित राखेको छ । यद्यपि, इजरायलले लेबनानी भूभागमा हवाई, स्थल वा समुन्द्री मार्गबाट कुनै पनि आक्रामक सैन्य कारबाही नगर्ने प्रतिबद्धता जनाएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, लेबनान सरकारले युद्धविराम अवधिमा हिजबुल्लाह र अन्य गैर–राज्य सशस्त्र समूहहरूलाई शत्रुतापूर्ण गतिविधि गर्नबाट रोक्न ठोस कदम चाल्नेछ । यदि वार्तामा प्रगति देखिएमा र लेबनानले आफ्नो सार्वभौमसत्ता प्रभावकारी रूपमा प्रदर्शन गरेमा यो युद्धविराम आपसी सहमतिमा थप विस्तार गर्न सकिनेछ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको समयमा इजरायली सेना लेबनानमा हालकै स्थानहरूबाट पछि नहट्ने स्पष्ट पारेका छन् । विदेश मन्त्रालयकाअनुसार दुवै देशका सरकारहरू युद्धविरामका शर्तहरूमा पूर्ण रूपमा सहमत भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =