वागमतीको हारपछि जय ट्रफीको होड रोमाञ्चक

काठमाडौं । कप्तान विपिन खत्रीको उत्कृष्ट बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा फराकिलो जितसँगै जय ट्रफी खेल्ने सम्भावना जीवन्त राखेको छ ।

यस प्रधानमन्त्री कपमा शीर्ष ६ स्थानमा रहने टोली आगामी संस्करणको जय ट्रफी (दुई दिवसीय) मा छनोट हुनेछन् । मंगलवार वीरगञ्जमा गण्डकीले कर्णाली प्रदेशमाथि ९ विकेट र जनकपुरमा लुम्बिनी प्रदेशले वागमती प्रदेशलाई ३४ रनले हराए । कर्णालीबाहेक तीनै टोलीको ट्रफीमा पुग्ने सम्भावना बाँकी थियो । तर हारसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती पहिलोपल्ट जय ट्रफी खेल्न असफल भयो ।

कर्णालीमाथि फराकिलो जितपछि गण्डकी ९ खेलबाट ९ अंक जोड्दै सातौं स्थान छ । समान खेलबाट नेपाल पुलिस क्लव, लुम्बिनी र मधेश प्रदेशको पनि समान ९ अंक नै छ । तर, नेट रनरेटका आधारमा पुलिस, लुम्बिनी र मधेश चौथोदेखि छैटौं स्थानम छन् । लिगको अन्तिम खेलमा यी टोलीले फराकिलो हार व्यहोरे मात्र लुम्बिनी शिर्ष ६ भित्र प्रवेश गर्नेछ ।

लिगको अन्तिम खेलमा लुम्बिनीले त्रिभुवन आर्मी क्लवसँग तथा मधेस र पुलिसबीच खेल हुनेछ । जुन खेलले जय ट्रफी खेल्ने थप तीन टोलीको टुङ्गो लाग्नेछ । बागमतीको हारपछि जय ट्रफीको होड खुला भएको हो । गत संस्करण शीर्ष चारभित्र रहेर बागमतीले जय ट्रफी खेलेको थियो । यसपल्ट वागमती ९ खेलबाट आठौं स्थानमा सीमित भयो ।

खराब ब्याटिङ सामना गरेपछि बागमती लिगको अन्तिम खेलमा लुम्बिनीसँग पराजित हुन पुग्यो । निर्मल गुरुङले उत्कृष्ट बलिङसँगै पाँच विकेट लिएपछि लुम्बिनीले जित आत्मसात् गरेको हो । रामजानकी क्रिकेट मैदानमा लुम्बिनीले दुई सय ३४ रनको मध्यम लक्ष्य दियो । तर, खराब ब्याटिङ गरेको बागमती ४४ ओभरमा १९९ रनमा नै अलआउट हुन पुग्यो ।

शिर्ष क्रमका ब्याटर सस्तैमा आउट हुँदा बागमती दबाबमा प¥यो । विवेक मगर र कप्तान सन्दीप लामिछानेले इनिङ समाल्ने प्रयास गरे पनि सफल भएनन् । विवेकले ४५ रन र कप्तान सन्दीपले ३२ रन बनाए । ४९ बलमा विवेकले तीन चौका र चार छक्का प्रहार गरे । पुछारका ब्याटर सन्दीपले ३६ बलमा दुई चौका र एक छक्का हिर्काए ।

आशुतोष घिरैया १५ रन, शुभ कंसाकर १२ रन, उतम मगरले २३ रन, ईशान पाण्डेले १७ रन र रिनजिन लामाले १६ रनमा आउट भए । लुम्बिनीको बलिङमा निर्मलले १० ओभरमा चार मेडन राख्दै २७ रन मात्र दिए । बिप्रासन केसी र दिनेश बोहोराले समान दुई विकेट लिँदा अजय चौहानको नाममा एक विकेट रह्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी ४५.२ ओभरमा दुई सय ३३ रनमा नै अलआउट भएको थियो । इनिङको दोस्रो बलमा नै ओपनर रञ्जित खड्का आउट भएपछि लुम्बिनीको सुरुआत राम्रो हुन सकेन । दोस्रो विकेटका लागि ओपनर प्रन्जव थापा र कप्तान देव खनालबीच ६५ रनको महत्वपूर्ण साझेदारी ग¥यो । प्रज्वल ४६ र कप्तान देव ३७ रनमा आउट भए । आकाश त्रिपाठीले ७२ रन जोड्दै इनिङ समाले ।

उनले ७२ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे । सन्तोष यादवले २५ रन र बिप्रासन केसीले १३ रन बनाए । वागमतीको बलिङमा विवेकले ७ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सन्दीपले पनि तीन विकेट नै लिए । रिजन ढकालले दुई तथा प्रतीश जिसीको नाममा एक विकेट रह्यो । राखेको छ ।

गण्डकीको सम्भावना जीवन्त

यस प्रतियोगितामा आफ्नो अन्तिम खेलमा गण्डकीले कर्णालीमाथि ९ विकेटको सहज जित निकाल्दा ओपनर ब्याटर अर्जुन कुमालको ५०० रनको आँकडा पार गरे ।

नारायणी क्रिकेट मैदानमा निकै खराब ब्याटिङ गरेको कर्णालीले ७३ रनको झिनो लक्ष्य दियो । गण्डकीले १३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा लक्ष्य भेट्टायो । गण्डकीका ओपनर सिबरिन श्रेष्ठ ४० रनमा र दीपक डुम्रे २२ रनमा अविजित रहे ।

सिबरिनले १८ बलमा तीन चौका र एक छक्का प्रहार गरे । लयमा रहेका ओपनर अर्जुन ६ रनमै पभेलियन फर्किए । यस प्रतियोगितामा उनी पहिलोपल्ट न्युन रनमा आउट भएका हुन् । प्रधानमन्त्री कपको एकै संस्करणमा पाँच रन पूरा गर्ने अर्जुन पहिलो ब्याटर बने । यस क्रममा उनले दुई शतक र दुई अर्धशतकसहित ५०४ रन जोडे ।

सर्वाधिक रनकर्ताको सूचीमा एपिएफका आसिफ शेख (४५७ रन) दोस्रोमा र आर्मीका कप्तान विनोद भण्डारी (४०२ रन) तेस्रो स्थानम छन् । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णाली २५.२ ओभरमा मात्र ७२ रनमा नै अलआउट हुन पुग्यो । नवौं नम्बरका ब्याटर प्रकाश जैशी १५ रनमा नटआउट रहे । यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो ।

कप्तान दिवान पुनले १४ र अर्जुन घर्तीले १३ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । गण्डकीको बलिङमा कप्तान विपिनले १० ओभरमा चार मेडन राख्दै पाँच विकेट लिएर १८ रन मात्र दिए । अपराजित पौडेलले तीन तथा कमल परियार र सुवास भण्डारीले एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =