ओली र लेखकमाथि अनुसन्धान जारी छ: काठमाडौं प्रहरी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान जारी रहेका घटनासम्बन्धी भ्रामक तथा अप्रमाणित सूचना प्रसारण/प्रकाशन नगर्न सर्वसाधारण तथा सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ज्यानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेका आरोपीहरू पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक सम्बन्धी विषयमा भ्रामक सूचना नफैलाउन आग्रह गरेका हुन् ।
उनका अनुसार सर्वोच्च अदालतको परमादेश तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनअनुसार उनीहरूलाई जमानीमा राखी अनुसन्धान भइरहेको छ ।
प्रहरीले एक विज्ञप्ति जारी गर्दै हालै एक युट्युब च्यानलमार्फत प्रसारण गरिएको श्रव्यदृश्य सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त सामग्रीमा व्यक्त धारणा तथा सूचनाले जनमानसमा भ्रम सिर्जना गरेको प्रहरीको भनाइ छ ।
“स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालयको कानुनी रायमा अनुसन्धान भइरहेका बेला जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण हुँदा गलत सन्देश प्रवाह भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले यस्ता अप्रमाणित तथा भ्रामक सामग्री सिर्जना र प्रसारण नगर्न सबै सरोकारवालालाई हार्दिक अपिल गरेको छ ।









