आफ्नो अधिकार सदुपयोग गर्दा मलाई छेपारो भनियो: हर्क साम्पाङ (भिडिओ)

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफ्नो पार्टीलाई उपसभामुख पद दिइएपछि अब नबोल्ने भन्ने टिप्पणीप्रति प्रष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले प्रतिपक्षी दलको हैसियतअनुसार अधिकार सदुपयोग गरेको बताएका हुन् । ‘सामाजिक सञ्जालमा सुनिरहेको, बुझिरहेको कुरा के छ भने अब हर्क साम्पाङको पार्टीलाई उपसभामुख दियो, उपसभामुख दिएपछि अब यसले बोल्दैन,’ उनले भने, ‘कतिले छेपारो भन्दै गरेको पनि सुनिराखेको थिएँ । यो विषयमा मैले केही स्पष्ट पार्नुपर्छ ।’

उनले उपसभामुख पद कुनै एक दलको नभई साझा संवैधानिक पद भएको उल्लेख गरे । ‘त्यो मेरो होइन, मेरो पार्टीको होइन । एउटा संवैधानिक परिषद् अन्तर्गतको एउटा पद हो, जुन साझा हुन्छ । त्यो एमालेको पनि हो, कांग्रेसको पनि हो, नेकपाको पनि हो, राप्रपाको पनि हो, रास्वपाको पनि हो,’ उनले भने ।

उनका अनुसार संसदमा ठूलो दलले सभामुख पाएपछि सोही दलले उपसभामुख दाबी गर्न नपाउने व्यवस्थाअनुसार प्रतिपक्षी दलका रूपमा आफ्नो पार्टीले उम्मेदवारी प्रस्तुत गरेको हो ।

साम्पाङले आफ्नो पार्टीले देशको स्वाधीनता, सीमा रक्षा, आर्थिक उन्नति तथा भ्रष्टाचार, अन्याय र अराजक गतिविधिविरुद्ध सधैं आवाज उठाइरहने स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =