रग्बी सेभेन्समा एपिएफ पुरुषमा र आर्मी महिलामा च्याम्पियन

काठमाडौं । अपराजित रहँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लव र त्रिभूवन आर्मी क्लव पुरुष तथा महिला राष्ट्रिय रग्बी सेभेन्समा च्याम्पियन भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न प्रतियोगितामा एपिएफ पुरुषमा र आर्मी महिलामा अपराजित रहँदै च्याम्पियन भएका हुन् । महिलातर्फ भएको फाइनलमा आर्मीले एपिएफलाई २२–१२ अंकले हरायो । यी दुई बीच लिगचरणमा पनि भेट भएको थियो ।

उक्त भेटमा पनि आर्मीले एपिएफलाई १४–५ अंकले हराएको थियो । जुन लय फाइनलमा पनि जारी राख्दा आर्मी अपराजित रहँदै च्याम्पियन भयो । पुरुषतर्फ एपिएफ विभागीय प्रतिद्वन्द्वी आर्मीमाथि १०–५ को प्रतिस्पर्धात्मक जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

एपिएफ पनि अपराजित रहँदै च्याम्पियन भएको हो । समूहमा आर्मी र एपिएफ दुवै विजेता हुन् । फाइनलमा भने आर्मीले लय जारी राख्न सकेन । महिलामा बागमती प्रदेश र पुरुषमा गण्डकी प्रदेश तेस्रो भए । पुरुषमा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले कोशी प्रदेशलाई १२–७ अंकले हरायो ।

महिलामा भने बागमतीले कर्णाली प्रदेशलाई ५–० अंकले हराउँदै तेस्रो स्थानमा प्राप्त गर्‍यो । यसअघि समूहचरणमा पनि बागमती र कर्णालीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेल भने १०–१० अंकको बराबरीमा सकिएको थियो । यसपल्ट प्रतिस्पर्धात्मक भए पनि बागमतीले बाजी मार्‍यो ।

प्रतियोगितामा पुरुषतर्पm एपिएफका रोहन ढंगोल उत्कृष्ट खेलाडी घोषित भए । महिलामा भने आर्मीकी कुमारी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट दुवैले समान पाँच हजार रुपैयाँसहित ट्रफी हात पारे । आइतबार नै लिगचरणको एक खेलसँगै सेमिफाइनलका प्रतिस्पर्धा भएको थियो ।

पुरुषतर्फ सेमिफाइनलमा आर्मीले कोशी प्रदेशलाई ४१–५ को फराकिलो अन्तरले हराउँदा एपिएफले गण्डकी प्रदेशलाई २४–० ले पन्छाएको हो । महिलातर्पm भने एपिएफले बागमती प्रदेशलाई ३९–० अंक र आर्मीले कर्णाली प्रदेश ३६–० अंकले हराउँदै उपाधि भिडन्त तय गरेका थिए ।

प्रतियोगितामा विजेता टोलीले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरे । नेपाल रग्बी संघको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी कुल १४ टोलीको सहभागिता रहेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्यसचिव तथा एसिया रग्बीका उपाध्यक्ष टंकलाल घिसिङ, नेपाल रग्बी संघका वरिष उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्द घिमिरेलगायत विजेतालाई पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =