नाटक ‘सेतो धरती’: रङ्गमञ्चमा जीवित बन्यो ताराको पीडा (तस्बिरमा)
२०६८ सालको मदन पुरस्कार विजेता उपन्यास सेतो धरती सर्वाधिक लोकप्रिय उपन्यासहरु मध्ये एक हो

काठमाडौँ। अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’, चलचित्र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिकामा ‘डेब्यु’ सहित रङ्गमञ्चमा मञ्चन भएको छ।
अभिनेत्री रेखा थापाको निर्माण अनि रङ्गकर्मी सुन्दर धितालको निर्देशनमा कान्तिपुर फिल्म एकेडेमीले गैह्रिधारा स्थित कान्तिपुर थिएटरमा चैत २७ गतेदेखि यो नाटकको मञ्चन सुरु गरेको हो।
२०६८ सालको मदन पुरस्कार विजेता उपन्यास सेतो धरती सर्वाधिक लोकप्रिय उपन्यासहरु मध्ये एक हो । यो उपन्यास मूल पात्र ताराको दृष्टिकोणबाट रचिएको छ।
उमेरअनुसार आउने जैविक रहर र रागहरूलाई धर्म, संस्कार र परम्पराका नाममा बन्दी बनाउन विवश भएकी अमुक्त पात्र तारालाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको त्यही धार– चाहना र कामना, राग र वैरागको द्वन्द्व गहन रूपले चित्रण गर्दै बाल, यौन र वृद्धा मनोविज्ञानलाई नाटकमा सूक्ष्म रूपमा केलाइएको छ । बाल विधवाको करुणाका माध्यमबाट अध्यात्म र जैविक दर्शन प्रस्तुत गरिएको छ।
वैशाख १९ गतेसम्म मञ्चन हुने नाटकमा अभिनेत्री बेनिशा हमाल सहित सुहाना आचार्य, उमेश सुनाम, सजना थापा, सुष्मिता श्रेष्ठ, एड्रिन धमला, बिना रोक्का, बिनिता गिरी, अर्नव घिमिरे, सम्राट् भुजेल, विरान दहनी, आवास भट्टराई, नितेश लोहार, विकल्प ओली, अर्जुन राई, अलिना कार्की, विशाल कार्की, प्रयास खत्री, संस्कार चौलागाईं, तेजस्वी शर्मा, स्वीकृति पन्त, रबीन पुन मगर र वर्षा भण्डारी लगायतका कलाकारहरूको अभिनय रहनेछ।
नाटक बुधवार बाहेक हरेक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ भने शनिवार, आइतबार र वैशाख १ गते दिउँसो १:१५ बजे अतिरिक्त शो पनि मञ्चन हुदैछ।
तस्बिर:–









