प्रधानमन्त्री कप क्रिकेट: आर्मी र पुलिस शीर्ष दुई स्थानको होडमा

काठमाडौँ । विनोद भण्डारीको शतकमा त्रिभूवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा छैटौँ जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा यथावत छ ।

जनकपुरमा बिहीबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि सात विकेटको जित निकाल्दा विनोदले शतक पूरा गरे । एक मात्र अपराजित टोली आर्मीको सातौँ खेलमा छैटौँ जित हो । रामजानकी क्रिकेट मैदानमा सुदूरपश्चिमले एक सय ५१ रनको झिनो लक्ष्य दियो । त्यो लक्ष्य आर्मीले २०।२ ओभरमा मात्र तीन विकेटको क्षतिमा पूरा गर्यो ।

ओपनर विनोदले एक सय रन जोड्दै जितको आधार बनाए । उनले ७५ बलमा १२ चौका र पाँच छक्का प्रहार गरे । दोस्रो ओभरमै ओपनर तृतराज दास ५ रनमा आउट भए । यससँगै आर्मीको शुवआत राम्रो हुन सकेन । दोस्रो विकेटका लागि विनोदले भीम सार्कीसँग ८७ रनको महत्त्वपूर्ण साझेदारी गरे ।

भीमले १६ रनको योगदान दिए । कुशल मल्ल २६ रनमा अविजित रहे । उनको इनिङमा समान दुई चौका र छक्का रह्यो । सुदूरपश्चिमको बलिङमा कप्तान शेर मल्लले दुई तथा मिलन बोहोराले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने सुदूरपश्चिमको निर्णय सही साबित हुन सकेन । आर्मीको बलिङसामू सुदूरपश्चिम ३८.१ ओभरमा १५० रनको सामान्य योगफलमा नै समेटियो ।

आर्मीका अलराउन्डर बसिर अहमदले पाँच विकेट लिँदै सुदूरपश्चिमलाई सस्तैमा रोके । आठौँ नम्बरका ब्याटर नारायण जोशीले ६३ रनको अर्धशतकीय योगदान दिए । ६० बल खेल्दै तीन चौका र पाँच छक्का प्रहार गरे ।

अन्य ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । ओपनरद्वय अभिषेक पालले २४ र खडक बोहोराले १३ रन तथा अशोक धामीले ११ रनको योगदान दिए । आर्मीको बलिङमा बसिरले ९.१ ओभरमा एक मेडन राख्दै ३५ रन मात्र दिए । नरेन साउद र साहब आलमले समान दुई तथा आकाश चन्दले एक विकेट लिए ।

सातौँ खेलमा ११ अंकसहित आर्मी शीर्ष स्थानमा छ भने आठ खेलबाट सुदूरपश्चिमको १० अंक छ । यो हारपछि लिगको शीर्ष दुई स्थानमा रहेर फाइनल खेल्ने सुदूरपश्चिमको लक्ष्य कमजोर बनेको छ । सुदूरपश्चिमले अब लिगको अन्तिम खेलमा पुलिसलाई हराउँदा पनि शीर्ष दुई स्थानमा रहेन सम्भावना कमजोर भएको छ ।

शीर्ष दुईनजिक पुलिस

दिनेश खरेलको उत्कृष्ट लय जारी रहँदा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा चौथो जितसँगै शीर्ष दुई स्थानको होडमा फर्किएको छ ।

वीरगन्जमा बिहीबार भएको खेलमा नेपाल पुलिसले कर्णाली प्रदेशमाथि ४८ रनको जित निकाल्दै प्रतियोगिताको शीर्ष दुई स्थानको होडमा फर्किएको हो । पुलिसको जितमा दिनेशले अर्धशतक र ललित राजवंशीले पाँच विकेट लिँदै महत्त्वपूर्ण योगदान दिए । नारायणी क्रिकेट मैदानमा पुलिसले दुई सय ६२ रनको लक्ष्य दियो । जबाफी लक्ष्य पछ्याएको कर्णाली ४५.२ ओभरमा २१३ रनमा नै अलआउट हुन पुग्यो ।

पहिलो ओभरमै ओपनर रवीन्द्र शाहीले १२ रनमा गुमाएपछि कर्णालीको सुरुआत राम्रो हुन सकेन । दोस्रो विकेटका लागि सुनिल धमला र विपिन शाहीबीच ४७ रनको साझेदारी भयो । सुनिल ३४ रन र विपिन १४ रनमा पभेलियन फर्किए ।

मध्य क्रमका ब्याटर अर्जुन घर्तिले ४६ रन र विपिन रावलले २८ रनको योगदान दिए । यसपछि कुनै पनि ब्याटरले ठूलो योगदान दिन नसक्दा कर्णालीले लक्ष्य भेट्टाउन सकेन । अर्जुनले ५६ बलमा समान दुई चौका र छक्का प्रहार गरे । पुलिसको बलिङमा स्पिनर ललित राजवंशीले पाँच विकेट लिँदै कर्णालीको इनिङ धरासयी बनाए । करण केसीले तीन तथा दीपक चन्द र आरिफ शेखले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ६१ रनको योगफल बनाएको थियो ।

ओपनर दिनेशले ८२ रनको अर्धशतकीय इनिङ खेले ।

उनले १०० बलको सामना गरेर ९ चौका र १ छक्का प्रहार गरे । दिनेश जारी प्रतियोगितामा उत्कृष्ट लयमा छन् । ६ इनिङमा ३०८ रन जोड्दै उनी सर्वाधिक रन बटुल्ने सूचीमा दोस्रो स्थानमा छन् । अमित श्रेष्ठले ३०, कप्तान आरिफ शेखले २७, दिलसाद अली २३ तथा शंकर राना १८ रनमा आउट भए ।

तल्लो क्रमका ब्याटर करण केसी २१ रनमा अविजित रहे । कर्णालीको बलिङमा प्रकाश जैसीले तीन तथा दिनेश अधिकारी र अनुज चनाराले समान दुई विकेट लिए । पुलिस सात खेलबाट ९ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा रहँदा कर्णालीको आठ खेलबाट तीन अंक मात्र रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =