आइपीएल : दिल्लीमाथि गुजरातको १ रनको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सविरुद्ध जित हासिल गरेको छ । दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट रंगशालामा बुधबार राती सम्पन्न खेलमा गुजरात १ रनले विजयी भएको हो ।

गुजरातले २११ रनको लक्ष्य दिएको थियाे, साेही रन पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर २०९ रन मात्र बनायो । दिल्लीका लागि केएल राहुलले सर्वाधिक ९२ रन बनाए । उनले ५२ बलको सामना गरेर ११ चौका र ४ छक्का प्रहार गरे । पथुम निशंका ४१, विप्रज निगम १२ रनमा आउट हुँदा डेविड मिलर ४१ रनमा अविजित रहे ।

गुजरातका लागि रशिद खानले ३ तथा प्रसिद्ध कृष्णाले २ विकेट लिए । त्यसअघि दिल्लीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१० रनको योगफल तयार गरेको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले ७० रनको अर्धशतकीय इनिङ खेले । उनले ४५ बलको सामना गरेर ४ चौका र ५ छक्का प्रहार गरे ।

जस बटलर २७ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५२ रन बनाउँदै पेभिलियन फर्किए । वासिङ्टन सुन्दर ३२ बलमा ६ चौका र २ छक्काका साथ ५५ रनको अर्धशतकीय इनिङ खेलेर आउट भए । ओपनर साई सुदर्सन ७ बलमा १२ रनमा आउट हुँदा ग्लेन फिलिप्स १४ रनमा अविजित रहे ।

दिल्लीका लागि मुकेश कुमारले २ तथा लुन्गि एन्गेडि र कुलदिप यादवले समान १ विकेट आफ्नो नाममा गरे ।

याेसँगै तेस्रो खेलमा गुजरात पहिलो जित निकालेर २ अंकमा छ । दिल्लीको भने तेस्रो खेलमा यो पहिलो हार हो । आइपिएलअन्तर्गत आज कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच खेल हुदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + thirteen =