सरोकारवाला भन्छन्–गैरसरकारी संस्थाकोे दिगोपनाका लागि अन्तरपुस्तागत सहकार्य जरुरी

काठमाडौं । सामाजिक न्यायका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरू (एनजीओ/आईएनजीओ)ले विगतको जस्तै कार्यशैली गैरसरकारी संस्थाहरु अब अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै आफ्नो कार्यशैली र पारदर्शितामा सुधारको आवश्यकता रहेको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित ‘सामाजिक न्यायका लागि गैरसरकारी संस्थाको भूमिका, जवाफदेहिता र पारदर्शिता’ विषयक अन्तरक्रिया बोल्दै गैरसरकारी संस्थाका प्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन् ।
एनजीओ क्षेत्रप्रति जनविश्वास घट्दै गएको उनीहरुको स्वीकारोक्ति छ । केही संस्था र व्यक्तिको कार्यशैलीका कारण समग्र क्षेत्र बदनाम भन्दै उनीहरुले सामाजिक न्याय र मुलुकको बृहत्तर हितका सवालमा अझै सशक्त हुन आवश्यक रहेको उनीहरुको भनाइ छ ।
लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष डिल्लीराम गिरीले विगतको शैलीमा एनजीओ सञ्चालन गरेर जनतामाझ प्रभावकारी उपस्थिति जनाउन नसकिने धारणा राखे । उनले विगतमा सामाजिक न्यायको क्षेत्रमा एनजीओहरुले महत्वपूर्ण योगदान गरेको भएपनि सरकारको तर्फबाट पर्याप्त सहयोग नपाएको भन्दै असन्तुष्टि जनाए ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले एनजीओ क्षेत्रमा पुस्तान्तरणसँगै अन्तरपुस्तागत सहकार्य आवश्यक रहेको बताए । उनले युवापुस्तालाई समेटेर अघि बढ्न नसके कुनैपनि गैरसरकारी संस्था दिगो नहुने बताए ।
उनले गैरसरकारी संस्था सम्बन्धी कानुन संशोधनमार्फत एनजीहरुको काम, कर्तव्य र अधिकार स्पष्ट बनाउन जरुरी रहेको बताए ।
गैरसरकारी संस्थाहरुको समयानुकूल सुधारका पारदर्शी र जवाफदेही कार्यसम्पादन आवश्यक रहेको अधिकांशको भनाइ छ ।








