मुलुकको विकासका लागि राज्यले प्राथमिकीकरण गर्न जरुरी: पाण्डे

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले मुलुकको विकासका लागि राज्यले प्राथमिकीकरण गर्न जरुरी रहेको बताएका छन् ।
सांसद–निजी क्षेत्रबीच राजधानीमा भएको संवाद कार्यक्रममा उनले अहिलेको प्राथमिकीकरण र मुलुक विकसित भएपछि कुन क्षेत्रलाई प्राथमिकीकरण गर्ने भन्नेबारे राज्यले योजना बनाउनुपर्ने बताए । उनकाअनुसार आजसम्म प्राथमिकीकरण नहुँदा सरकारले बनाउने योजनाहरू प्रभावकारी रूपमा लागू हुने गरेका छैनन् ।
अध्यक्ष पाण्डेले नेपालको उत्तरतर्फ १६० करोड र दक्षिणतर्फ १४० करोड जनसंख्या रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा अपेक्षित ग्रोथ हुन नसकेको बताए । उनले अहिलेसम्म दुई वटा पर्यटन भ्रमण वर्ष घोषणा गरिए पनि सफल हुन नसकेको बताए ।
अध्यक्ष पाण्डेले भने ‘मुलुक विकसित भएपछि कुन क्षेत्रलाई प्राथमिकीकरण गर्ने भन्ने आजको आवश्यकता हो । आजसम्म प्राथमिकीकरण गरेको देखेका छैनौँ । आज उत्तरतर्फ १६० करोड जनसंख्या छ, दक्षिणतर्फ १४० करोड जनसंख्या छ । तर नेपालमा पर्यटनमा ग्रोथ गर्न सकेको छैन । यसका कारण योजनाबद्ध रूपमा जान नसक्नु हो । अहिलेसम्म दुई वटा पर्यटन भ्रमण वर्ष घोषणा गरियो । योजना पहिला आउनुपर्ने की कार्यक्रम । योजना भन्दा पनि कार्यक्रम छिटो आयो । यसले गर्दा हामीले लक्षित लक्ष्य भेट्न सकिरहेका छैनौँ ।’
उद्योगपति शशीकान्त अग्रवालले मुलुकमा क्षमतावान् जनशक्तिको अभाव रहेको बताए । उनले दक्ष जनशक्ति उत्पादन गर्न राज्यले जोड दिनुपर्ने बताउँदै त्यस्तो जनशक्ति उद्योगका लागि जरुरी रहेको बताए ।
उनकाअनुसार मुलुकमा क्षमतावान् जनशक्तिको चरम अभाव छ । उद्योगहरू जनशक्तिको अभावमा उत्पादन बढ्न सकिरहेको छैन । पछिल्लो समय एआई विकास भइरहेपनि उद्योगहरूमा अझै श्रमिकले नै काम गरिरहेका छन् । एआइको विकास भएपनि क्षमतावान् जनशक्ति कहिल्यै पलायन हुन नपर्ने उनको भनाइ रहेको छ ।








