किम्बु बिरुवाको माग बढ्दो

नारायणगढ । रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु पछिल्लो समय रेशमखेती घट्दै जाँदा वैकल्पिक उपयोगका कारण फेरि चर्चामा आउन थालेको छ । हाल किम्बुका बुटाको वैकल्पिक प्रयोग बढ्न थालेको छ ।
अहिले किम्बुका बुटा व्यावसायिक होटल, रेष्टुराँ र पर्यटन क्षेत्रमा सजावटी बिरुवाका रूपमा प्रयोग हुन थालेका छन् भने पशुपालन गर्ने किसानहरूले यसलाई घाँसका रूपमा समेत उपयोग गर्न थालेपछि यसको माग बढ्दो छ ।
चितवनको भण्डारास्थित व्यावसायिक किट विकास फार्ममा उत्पादित किम्बुका बिरुवा देशका विभिन्न जिल्लामा यिनै प्रयोजनका लागि पठाइने गरिएको छ । कार्यालय प्रमुख सुरुची त्रिपाठीका अनुसार चालु आर्थिक वर्षमा कार्यालयले एक लाख ८० हजारभन्दा बढी किम्बुका बिरुवा उत्पादन गरेको छ ।
ती बिरुवा किसानलाई प्रतिविरुवा रु पाँचका दरले बिक्री गरिँदै आएको उनले जानकारी दिए । यस वर्ष मधेस तथा पहाडी जिल्लाबाट समेत किम्बु बिरुवाको माग आएको उनले बताए । पछिल्लो समय रेशम किरापालनका लागि समेत बिरुवाको माग पुनः बढ्न थालेको छ ।
ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लाबाट किम्बु बिरुवाको माग आएको उनले बताए । त्यसैगरी, पर्यटन क्षेत्रबाट पनि किम्बु बिरुवाको माग बढ्दो रहेको छ । होटल तथा रिसोर्टहरूले छिटो हुर्कने, राम्रो छहारी दिने र फल लाग्दा चराचुरुङ्गी आकर्षित हुने भएकाले वातावरणीय सौन्दर्यका लागि किम्बु रोप्ने चलन बढेको उनले बताए ।
उनले भने, “होटल तथा रिसोर्टहरूबाट यसको माग बढेको छ, किनभने यो बिरुवा छिटो हुर्कन्छ । फल लाग्ने समयमा चराचुरुङ्गी आकर्षित हुने भएकाले रेष्टुराँ परिसरमा रोप्दा राम्रो छहारीका साथै आउने पाहुनाहरूले चराहरू अवलोकन गर्न सक्ने वातावरण सिर्जना हुन्छ । यसै कारण किम्बु रोप्ने प्रचलन बढ्दै गएको छ ।”
किम्बुको फलको पनि बजारमा उत्तिकै माग रहेको छ । यसको फलमा औषधीय गुण पाइने र वाइन, जाम तथा जुस बनाउन प्रयोग गर्न सकिने भएकाले केही उद्योगहरूले समेत फलको माग गर्ने गरेका छन् ।
उनका अनुसार किम्बु फलले रगतमा हेमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्ने भएकाले स्वास्थ्यका हिसाबले समेत उपयोगी मानिन्छ । “स्वास्थ्यका हिसाबले किम्बु अत्यन्त राम्रो फल हो”, उनले भने ।








