एनपीएलको कुल आम्दानी ४७ करोड ३६ लाख, क्यानलाई ९ करोडभन्दा बढी !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको बैठकले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको आय–व्यय विवरण अनुमोदन गरेको छ । अनुमोदित विवरणअनुसार क्यानले प्रतियोगिताबाट ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ ५ पैसा खुद आम्दानी गरेको छ ।

क्यानका अनुसार एनपिएलको कुल ग्रस रेभिन्यू ४७ करोड ३६ लाख ५५९ रुपैयाँ रहेको थियो । खर्च कटाएपछि प्रतियोगिताबाट कुल २५ करोड ३९ लाख ९५ हजार ४३५ रुपैयाँ नाफा भएको छ । उक्त नाफामध्ये ५० प्रतिशत अर्थात् १६ करोड १८ लाख ७३ हजार ५०० रुपैयाँ ८ वटा फ्रेन्चाइज टोलीहरूलाई बाँडफाँड गरिएको छ भने बाँकी रकम क्यानको भागमा परेको हो ।

एनपिएलको आर्थिक विवरण अनुमोदन गर्ने प्रक्रियामै क्यानभित्रको आन्तरिक विवाद पनि सतहमा आएको छ । १७ सदस्यीय निर्वाचित कार्यसमितिमध्ये उपाध्यक्ष रोशन सिंहसहित ८ जना सदस्यहरूले बैठक बहिष्कार गरेका थिए ।

असन्तुष्ट पक्षले एनपिएलको हिसाब–किताबको विवरण बैठकअघि नै अध्ययन गर्न पाउनुपर्ने अडान राखेको थियो । तर, क्यानले आवश्यक कागजात समयमै उपलब्ध नगराएको भन्दै उनीहरू बैठकमा अनुपस्थित भएका हुन् ।

कोरम पुर्‍याउन ९ जना सदस्यको उपस्थितिमा सोमबार बैठक सम्पन्न गरिएको थियो । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक पनि बहिष्कारकै कारण स्थगित भएको थियो ।

बैठकले क्यानको वार्षिक साधारण सभा २०८३ साल वैशाख २७ र २८ गते कोशी प्रदेशको विराटनगरमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार सम्झौता थप गर्न र हाल राष्ट्रिय खेलकुद परिषद् मातहत रहेको तल्लो मुलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।

कार्यकाल सकिएका २० जिल्लाको अवधि जेठ मसान्तसम्म थप गर्ने र सोही अवधिभित्र अनिवार्य रूपमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

आईसीसीको निर्देशनअनुसार क्यानले यस वर्षदेखि महिला क्रिकेटको समग्र विकासका लागि ५ लाख अमेरिकी डलर लगानी गर्ने व्यवस्था गरेको जनाएको छ ।

बैठकले क्यानको सन् २०२६ को वार्षिक कार्यक्रम तथा बजेट पनि अनुमोदन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =