बैंकिङ क्षेत्रमा नयाँ कार्यतालिका लागू, शनिबार र आइतबार बन्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ प्रावधान लागू गर्ने घोषणा गरेको छ ।
राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागद्वारा जारी सूचनाअनुसार सरकारको निर्णय बमोजिम अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा रहनेछ । यो व्यवस्था २०८२ चैत २३ गतेदेखि कार्यान्वयनमा आउने जनाइएको छ ।
नयाँ नियमसँगै बैंक तथा वित्तीय संस्थाको दैनिक सञ्चालन समयसमेत परिमार्जन गरिएको छ । अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ । सर्वसाधारणका लागि बैंकिङ सेवा भने बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ ।
केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले आन्तरिक रूपमा नयाँ तालिका लागू गर्न थालेका छन् । सेवा समय प्रभावकारी बनाउन कर्मचारीहरूलाई बिहान ८:४५ बजेसम्म कार्यस्थलमा उपस्थित हुन निर्देशन दिइएको छ ।
सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित लिएको निर्णयअनुसार सेवा समयलाई व्यवस्थित गरिएको बताइएको छ । यससँगै ग्राहकहरूले बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म बैंकिङ सेवा लिन सक्नेछन् ।
यस्तै, जाडो याम (कात्तिक १६ देखि माघ १५) का लागि छुट्टै समय तालिका निर्धारण गरिएको छ । सो अवधिमा कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ भने बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सीमित गरिनेछ ।
यसअघि बैंकहरू आइतबारदेखि बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तथा शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहने गरेका थिए । समय तालिका परिवर्तन गर्दा राष्ट्र बैंकलाई जानकारी गराई तथा श्रम कानुनअनुसार कर्मचारीलाई भत्ता उपलब्ध गराएर बैंकहरूले सेवा प्रदान गर्दै आएका थिए ।








