प्रधानमन्त्री कप क्रिकेट: अभिशेकको उत्कृष्ट बलिङमा एपिएफको जित

काठमाडौँ । अभिशेक गौतमको उत्कृष्ट बलिङमा विभागीय टोली एपिएफले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात् गरेको छ ।

जनकपुरमा शनिवार भएको खेलमा अभिशेक चम्किएपछि एपिएफले कर्णाली प्रदेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै जारी प्रतियोगितामा दोस्रो सफलता आत्मसात् गरेको हो ।

स्पिनर अभिशेकले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । उनी म्यान अफ दी म्याच पनि भए । समान छैटौँ खेलमा एपिएफको यो दोस्रो जित हो भने कर्णालीको चौथो हार हो ।

कर्णालीले एक सय ८ रनको झिनो लक्ष्य दियो । जबाफमा एपिएफले त्यो लक्ष्य १२ ओभरमा बिना विकेट पूरा गर्यो । प्रधानमन्त्री कपमा एपिएफले दोस्रोपल्ट १० विकेटले जित निकाल्यो । सन् २०२२ मा पनि एपिएफले सुदूरपश्चिमलाई १० विकेटले हराएको थियो । यस संस्करणमा खराब प्रदर्शन गरे पनि एपिएफ दोस्रोपल्ट फराकिलो जित निकाल्न सफल भयो ।

एपिएफका ओपनरद्वय आसिफ शेख र दीपक बोहोरा १०८ रनमा अविजित रहँदै २२८ बल बाँकी छँदा नै जित दिलाए । आसिफ ६५ रनमा र दीपक ४२ रनमा अविजित रहे । आसिफले ३८ बल खेल्दै १२ चौका र एक छक्का प्रहार गरे । दीपकको इनिङमा भने ६ चौका र दुई छक्का रह्यो । पहिलो खेलमा बागमतीलाई हराउँदा पनि आसिफले शतक प्रहार गरेका थिए ।

उनी यस प्रतियोगिताको सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । आसिफले २४७ रन जोडेका छन् । कर्णालीका कप्तान दिवान पुनले पाँच बलर प्रयोग गरे पनि विकेट निकाल्न सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३६ ओभरमा १०७ रनमा नै अलआउट हुन पुग्यो । १९ वर्षे स्पिनर अभिशेकले कर्णालीका शीर्ष चार ब्याटरलाई सस्तैमा पभेलियन फर्काए ।

त्यसपछि कर्णाली समालिन नै सकेन । उनले ओपनर सुनिल धमलालाई १७ रनमा आउट गरे । ३.४ ओभरमा कर्णाली ३६/१ को अवस्थामा थियो । थप तीन रन जोड्दा कर्णाली चार विकेट गुमाउन पुग्यो र दबाबमा पयो । ओपनर रवीन्द्र शाही १८ रन, निश्चल रावल र विपिन रावल शून्य तथा विपिन शाही १ रनमा नै आउट भए ।

यससँगै ९.४ ओभरमा कर्णाली ३९/५ को अवस्थामा पुग्यो । मध्य क्रमका ब्याटर अर्जुन घर्तीले ३८ रन जोडे । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । दीपेन्द्र रावतले २५ रनको योगदान दिए । एपिएफको बलिङमा कमलसिंह ऐरीले पनि समान चार विकेट लिँदा कप्तान रोहित पौडेलको नाममा एक विकेट रह्यो । एपिएफको पाँच अंक र कर्णालीको तीन अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =