अमेरिका र इजरायलको इरानसँग जारी युद्धमा मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो

तेहरान । इरानमाथि अमेरिका र इजरायलले संयुक्त आक्रमण गर्दा ज्यान गुमाउनेको सङ्ख्या ५ हजार नाघेको छ । विभिन्न एजेन्सीहरूले संकलन गरेको तथ्याङ्कअनुसार रोयटर्सले यो  विवरण सार्वजनिक गरेको हो ।

सबैभन्दा धेरै क्षति इरानमा भएको छ, जहाँ हालसम्म ३ हजार ५ सय १९ जनाको मृत्यु भइसकेको छ । मानव अधिकारवादी संस्था हरानाका अनुसार इरानमा ज्यान गुमाउनेमध्ये १ हजार ५ सय ९८ जना सर्वसाधारण हुन्, जसमा २४४ बालबालिका समेत परेका छन् । रेडक्रस र रेड क्रिसेन्टले समेत इरानमा करिब १९ हजार मानिस घाइते भएको बताएको छ ।

त्यस्तै, लेबनानमा इजरायली आक्रमणबाट हालसम्म १ हजार ३ सय १८ जनाले ज्यान गुमाएका छन्, जसमा १२४ बालबालिका रहेका छन्  । त्यहाँ हिजबुल्लाहका ४ सयभन्दा बढी लडाकु मारिएका छन् भने ड्युटीमा रहेका ९ लेबनानी सैनिक र संयुक्त राष्ट्रसंघका ३ इन्डोनेसियाली शान्ति सेनाले समेत ज्यान गुमाउनु परेको छ ।

इराकमा पनि स्थिति तनावपूर्ण छ, जहाँ इरान निकट मिलिसिया, कुर्दिस लडाकु र केही विदेशी सदस्यसहित १०७ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् ।

भने, जवाफी कारबाही स्वरूप इरान र लेबनानबाट प्रहार गरिएका क्षेप्यास्त्रका कारण इजरायलमा हालसम्म १९ जनाको मृत्यु भएको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्ना १० सैनिक मारिएको जानकारी दिएको छ भने सीमा क्षेत्रमा आफ्नै सेनाको असावधानीका कारण एक इजरायली किसानले ज्यान गुमाएका छन् ।

युद्धमा प्रत्यक्ष संलग्न अमेरिकाले पनि आफ्ना १३ सैनिक गुमाएको छ, जसमा इराकमा भएको विमान दुर्घटना र इरानमा भएका सैन्य कारबाहीका क्रममा मारिएकाहरू समावेश छन् ।

त्यस्तै, संयुक्त अरब इमिरेट्समा ११, कतारमा ७, कुवेतमा ७ र वेस्ट बैंक तथा सिरियामा ४–४ जनाको मृत्यु भएको छ । त्यसैगरी बहराइन, ओमान र साउदी अरबमा पनि मृत्युका घटना दर्ता भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =