अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसले नेता पूर्णबहादुर खड्कालाई अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न सचेत गराएको छ ।
बुधवार पार्टी मुख्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय अनुशासन समितिको बैठकले नेता खड्काले चैत्र १४ गते कार्यवाहक सभापतिको हैसियतमा नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रुपमा वक्तव्य जारी गरेको निष्कर्ष निकाल्दै आइन्दा त्यसो नगर्न सचेत गराएको हो ।
नेता खड्काले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै कार्यवाहक सभापतिको रुपमा वक्तव्य जारी गर्नुभएको थियो । त्यो कार्य अनधिकृत भएकाले त्यसो नगर्न नेता खड्कालाई सचेत गराउने निर्णय गरिएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।
उनले त्यस्ता खालका गतिविधि तत्काल बन्द नभए पार्टीको विधान र प्रचलित कानून बमोजिम पार्टीका जो कोही नेतालाई पनि कारबाही गरिने चेतावनी समेत दिए । बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उलंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिमा पठाउन पनि सिंगो पार्टी पक्तिलाई निर्देशन दिएको छ ।
अनुशासन समितिले निर्वाचनको पार्टीको अनुशासन विपरितका गतिविधि गरेकाहरुलाई ७ दिन स्पष्टिकरण दिन पनि निर्देश गरेको छ ।
निर्वाचनको क्रममा पार्टीको हित विपरित लागेका भनिएकाहरुलाई स्पष्टिकरण दिन सो समय दिइएको पनि संयोजक गुरुङले बताए ।








