पूर्वमिस नेपाल उषा खड्गीले लगाइन् पूर्व पतिमाथि गम्भीर आरोप

काठमाडौँ । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको पारिवारिक विवाद सार्वजनिक भएको छ । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत एकपछि अर्को स्टाटस लेख्दै पूर्वपतिविरुद्ध गम्भीर आरोप लगाएकी हुन् ।

पहिलो स्टाटसमा उनले पूर्वपतिले आफूलाई गाली गर्ने, जीवनमा हस्तक्षेप गर्ने र तनाव दिने गरेको उल्लेख गर्दै अब प्रहरी प्रशासनमा जानुपर्ने अवस्था आएको बताएकी छन् ।

त्यसैगरी, अर्को स्टाटसमा उनले पूर्वपति घरमै बसेर बालबालिकासामु अनुचित व्यवहार गर्ने, आफू तथा आफन्तप्रति अपमानजनक शब्द प्रयोग गर्ने र निरन्तर मानसिक दबाब सिर्जना गर्ने आरोप लगाएकी छन् । अदालतबाट आफूले घरमा अंश पाएको उल्लेख गर्दै आफ्नो अधिकारमाथि हस्तक्षेप भइरहेको भन्दै प्रश्न उठाएकी छन् ।

उनले अंशबण्डाअनुसार घरमा चार अंशियार रहेको र आफू, छोरी, छोरा तथा पूर्वपति प्रत्येकको २५–२५ प्रतिशत हिस्सा रहेको दाबी पनि गरेकी छन् । तर पूर्वपतिले घर आफ्नो मात्र भएको दाबी गर्दै आफूलाई घर छाड्न दबाब दिइरहेको उनको भनाइ छ ।

अर्को स्टाटसमा उनले आफूलाई घरबाट निकाल्न दबाब दिइएको भन्दै अब आफू ननिस्किने बरु कानुनी रूपमा लड्ने चेतावनी दिएकी छन् । यसअघि सोमबार उनले ‘सिंगल मदर’ भएकोमा गर्व महसुस हुने उल्लेख गर्दै स्टाटस लेखेकी थिइन् ।

२०७९ जेठ २६ गते काठमाडौं जिल्ला अदालतबाट उषा खड्गी र जीपी तिमल्सिनाबीच सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेदको करिब ६ महिनापछि अंशबण्डाको टुंगो नलाग्दै तिमल्सिनाले मंसिर १९ मा दोस्रो विवाह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =