भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै

काठमाडौँ । नर्सरी व्यवसायी संघ, नेपालले तेस्रो संस्करणको नेशनल हर्टिकल्चर एक्स्पो २०८२ गर्ने भएको छ ।

संघले मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी चैत १९ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा एक्स्पो हुने जानकारी दिएको हो ।

मेलाले आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने सङ्घका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले जानकारी दिए । कृषि क्षेत्रमा लगानी र रोजगारीका अवसर विस्तार गर्न पनि योगदान पुर्याउने उनको विश्वास छ । उनकाअनुसार मेलामा देशभरका पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी क्षेत्रका ७ सय भन्दा बढी प्रजातिका बिरुवाहरू प्रदर्शनी तथा विक्रीका लागि राखिनेछन् ।

मेलामा मलखाद, बीउबिजन, गमला, औजार उपकरण तथा आधुनिक कृषि प्रविधिसम्बन्धी सामग्रीसमेत उपलब्ध हुने उनले बताए । मेलामा ५६ वटा व्यावसायिक स्टल, २ वटा फुड स्टल, ३ वटा आधिकारिक स्टल र ४ वटा प्रतिस्पर्धात्मक स्टलसहित कुल ६५ वटा स्टल रहने छन् । उनकाअनुसार मेलामा करिब ५१ हजार दर्शकले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलामा नर्सरी व्यवसायीहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई शिल्ड, नगद र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए । उनका अनुसार ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ र ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’ बाट एक÷एक जना व्यवसायीलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।

संघकाअनुसार नेपालको नर्सरी क्षेत्रले वार्षिक ६ अर्ब ४३ करोडको कारोबार गर्ने गरेको छ । देशभर रहेका ३ हजार ९ सय १ वटा पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरीले १ लाख २० हजार भन्दा बढीलाई रोजगारी सिर्जना गरेको संघले जनाएको छ । संघकाअनुसार नर्सरी क्षेत्रमा व्यवसायीहरूले ११ अर्ब ८३ करोड लगानी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 17 =