जुम्लाको विद्यालयमा छात्रवृत्ति रकम हिनामिना प्रकरणमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लास्थित एक विद्यालयमा छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार जिल्ला जुम्ला, तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयमा छात्रवृत्ति र दिवाखाजा रकम दुरुपयोग भएको उजुरीपछि अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७९/०८० मा प्राप्त रु. १ लाख ४५ हजार ३५० छात्रवृत्ति रकम विद्यार्थीलाई वितरण नगरी हिनामिना गरिएको पाइएको आयोगले जनाएको छ । विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतले उक्त रकम वितरण गरेको भन्दै झुट्टा भरपाई तयार गरी सम्बन्धित निकायमा पेश गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

आयोगले सो रकम २०८० चैत २१ गते वितरण गरिएको देखाउन कागजात किर्ते गरिएको तथा वास्तविक लाभग्राही विद्यार्थीलाई रकम नदिइएको पुष्टि भएको जनाएको छ ।

यस प्रकरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद भट्टराई, प्रधानाध्यापक महत र लेखा सहायक कृष्ण कामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा जनही रु. १ लाख ४५ हजार ३५० बिगो कायम गरी कैद तथा जरिवाना मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =