सुशासन, समृद्धि र जनताको प्रगतिको विषयमा कांग्रेस प्रतिबद्ध छः प्रवक्ता चालिसे

पाटन । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सुशासन, समृद्धि र जनताको प्रगतिको विषयमा कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

पार्टीद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता चालिसेले कांग्रेस सत्तामा मात्रै हैन प्रतिपक्षमा बसेर पनि रचनात्मक भूमिका निर्वाह गर्छ भन्दै जनताले अभिव्यक्त गरेको मतलाई पार्टीले सम्मान गर्दै सोहीअनुसार भूमिका निर्वाह गर्ने बताए ।

“कांग्रेस निर्वाचनका लागि मात्रै हैन, निर्वाचन नै नहुने समयमा पार्टी क्रियाशील थियो, निर्वाचन हुने वातावरण नेपाली कांग्रेसले नै तयार गरेको हो, सही विषयमा कांग्रेस सरकारको साथमा हुन्छ, लोकतान्त्रिक मूल्यमान्यता र जनताको अधिकार रक्षाका लागि कांग्रेसले प्राथमिकता दिन्छ, नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो स्रोत रेमिट्यान्स हो, अर्थतन्त्र सङ्कटको अवस्थामा छ, सङ्कटमा सहयोगी प्रतिपक्षको भूमिका निर्वाह गर्छु”, प्रवक्ता चालिसेले भने ।

प्रवक्ता चालिसेले १६५ निर्वाचन क्षेत्रको समीक्षा गर्दै सुधार्ने र सुध्रिने प्रयास गर्नेछु भन्दै यो निर्वाचनको परिणाम अप्रत्याशित भएको धारणा राखे । “कांग्रेसले संरचनागतदेखि नीतिगत सुधारका लागि ध्यान दिन्छ, पार्टीलाई रुपान्तरण गर्न व्यापक सुधार गर्ने कार्यमा ध्यान दिन्छ”, प्रवक्ता चालिसेले भने । उनले देशमा बारम्बार उठेको विषय सुशासन भएको भन्दै २०४६ सालदेखि २०८२ सालसम्म सार्वजनिक तहमा बसेका व्यक्तिको सम्पत्ति छानबिन होस् भन्नेमा जोड दिए ।

“सरकारले सम्पत्ति छानबिन र सुशासनमा ध्यान दिनुपर्छ, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण हुनुहुँदैन । पात्र र प्रवृत्ति सही हुनुपर्छ, छानबिन गर्ने आयोग सरकारले बनाओस्, कांग्रेसले सहयोग गर्छ, सफा र स्वच्छ राजनीति हुनुपर्छ, भ्रष्टाचार सामाजिक समस्या हो, यसको समाधान गर्नुपर्छ, यो केवल भोट बटुल्ने माध्यम बन्नु हुँदैन”, प्रवक्ता चालिसेले भने ।

प्रवक्ता चालिसेले यो निर्वाचनमा पार्टी नबदल्ने र मत बदल्ने साथी पनि छन् भन्दै यसमा भरपर्दो वातावरण बनाउन तथा पार्टीको अनुशासनलाई प्रभावकारी बनाउन अभिमुखीकरण गर्नुपर्ने बताए ।

“अबको सुधारका लागि क्रियाशील सदस्यताबाटै सुरुआत हुन्छ, सबैले सम्बन्धित वडामा गएर क्रियाशील सदस्यताको तथ्याङ्क राख्नु पर्नेछ, सदस्यको निष्क्रियता बदल्न यो प्रक्रिया गर्न गइरहेको छु, पछिल्लो पटक पार्टीको अनुशासनलाई बढी महत्व दिएको छु, समयको परिवर्तनसँगै नेताको शैली, व्यवहार र भाषा परिवर्तन हुनु आवश्यक छ, यसकालागि लिडरसीप तालिम लिनु आवश्यक छ”, प्रवक्ता चालिसेले भने ।

प्रवक्ता चालिसेले संसद्भित्र भूमिका राम्रो भएन भने सांसदलाई फिर्ता बोलाउन सक्ने व्यवस्था विधानभित्रै गरिएको बताए । उनले जेनजेड आन्दोलनको विषयमा आएको प्रतिवेदन अधुरो र अपूर्ण रहेको धारणा राखे। “प्रतिवेदनमा २३ गतेको घटनालाई लिइएको छ, तर २४ गतेको घटनालाई हेरिएको छैन, सरोकारवाला र विज्ञको समिति बनाएर कार्की आयोगको प्रतिवेदन र मानवअधिकार आयोगको प्रतिवेदनका विषयमा छलफल हुनेछ”, उनले भने ।

पार्टीको भातृ संस्थाको बारेमा छलफल भइ चुस्तदुरुस्त बनाउन दुई महामन्त्रीको समन्वयमा समिति बनाएको छु भन्दै प्रवक्ता चालिसेले पार्टीको विधान, नीति र निर्देशिका परिवर्तन गर्नका लागि सहमहामन्त्री योगेन्द्र चौधरीको नेतृत्वमा समिति बनाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =