कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह’- केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगको प्रतिवेदनलाई ‘कुकर्म’ र ‘भद्दा नाटक’ को संज्ञा दिएका छन् ।
उनले फौजदारी अपराध दण्डसंहिता २०७४ को दफा १८१ र १८२ अनुसार आफूमाथि छानबिन गर्न गरिएको सिफारिसलाई कानुनी रूपमा ‘निराधार’ र ‘अस्वीकार्य’ भएको बताएका हुन् ।
ओलीले कानुनी तर्क प्रस्तुत गर्दै दफा १८१ र १८२ आकर्षित हुनका लागि सम्बन्धित व्यक्ति घटनास्थलमा उपस्थित हुनुपर्ने र घटना प्रत्यक्ष रूपमा उसैबाट गराइएको हुनुपर्ने बताए । उनले प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिने र गोली पनि नचलाउने भन्दै आयोगका पदाधिकारीहरू पहिले नै एमाले विरुद्ध विषाक्त धारणा राख्ने व्यक्तिहरू भएकोले यस्तो प्रतिवेदन आएको दाबी गरे ।
उनले भने ‘दफा १८१ र १८२ घटनास्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्दछ र उसबाट घटना प्रत्यक्ष रूपमा घटाइएको हुनुपर्दछ । भवितव्यले होस् कि लापरबाहीले होस् जुनसुकै परिस्थितिमा पनि उसको उपस्थिति घटनास्थलमा आवश्यक छ अनि मात्र उसले लापरबाही गरेर यस्तो भयो भन्ने कुरा हुन्छ । जो मान्छे त्यहाँ उपस्थित नै छैन उसको लापरबाही भन्ने कुरै हुँदैन । यो वास्तवमा कुनै सिफारिस गर्न कुनै हिसाबले न्यायाधीश भइसकेका मान्छे, प्रहरीको उच्च ओहदामा अनेक मुद्दाहरू हेरेर चलाएर छानबिन गरेर आएका मानिसहरूबाट जुन सिफारिस दफा १८१, १८२ भनेर भएको छ, त्यो अत्यन्तै निराधार र यो कानुनी हिसाबले प्रधानमन्त्रीको बारेमा, गृहमन्त्रीको बारेमा, आइजिपीको बारेमा सिफारिस गर्नै नमिल्ने कुरा हो । हाम्रो नाम त्यहाँ उल्लेख गर्नु भनेको चरम पूर्वाग्रह, कतै केही नपाएपछि नभेटेपछि बलजफती लगेर ती दफाहरू ठुँसेको छ त्यहाँ । यो चल्नै नसक्ने कुरा हो । यो बदनाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीतिको अर्को प्रकटीकरण मात्रै हो ।’
यो सिफारिसलाई उनले बदनाम गर्ने र चरित्र हत्या गर्ने ‘घृणाको राजनीतिको अर्को प्रकटीकरण’ का रूपमा व्याख्या गरे ।








