अनुभव नै मेरो जितको आधार हो- उत्तम केसी (कुराकानी)

‘विगतमा नेपाली चलचित्र कलाकारको हक, हित र संरक्षणका लागि हामीले सोचेजस्तो काम भएन्’

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका स्थापित र अनुभवी कलाकार हुन् उत्तम केसी । वि.सं २०३८ मा ‘जोइटिङ्ग्रे’ नाटकबाट रङ्गमञ्चमा प्रवेश गरेका उनले हालसम्म २ सय ५० भन्दा बढी फिल्महरूमा काम गरिसकेका छन् ।

विशेषतः उनी ‘जीवन चक्र’ नामक टेलिचलचित्रमा उत्तम काका पात्र को ‘चुँईचुँई पारेर’ थेगाबाट चर्चामा आएका थिए ।

उनले लामो समयदेखि नेपाली फिल्म उद्योगमा सक्रिय रहँदै विभिन्न चलचित्र तथा सांस्कृतिक गतिविधिहरूमा योगदान दिँदै आएका छन् । हाल उनले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

कलाकार केसीसँग चलचित्र कलाकार संघमा कार्यकारी सदस्यदेखि सचिवसम्मको अनुभव रहेको छ । उनले प्रशासनिक रूपमा र चलचित्र विकाश बोर्डको सदस्य भएर समेत काम गरिसकेका छन् ।

उनी कलाकार संघमा वसुन्धरा भुसाल, कृष्ण मल्ल, शिव श्रेष्ठ, विन्द्र खड्का र शान्ति मास्के जस्ता अनुभवीहरूले काम गर्दै गर्दै अहिले वर्तमान मोहन निरौलासम्म आइपुगेको बताउँछन् । उनले अनुभवकै आधारमा आफूले अध्यक्ष पदका लागि उम्मेदवारी दिएको स्पष्ट पारे ।

उनले नेपाल चलचित्र कलाकार संघमा भएका सबै विकृति विसङ्गति हटाएर नेपाली चलचित्र कलाकारको हक, हित र संरक्षणका लागि एउटा दस्ताबेज तयार पारेर चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएको बताए ।

यससँगै ‘चलचित्र कलाकार संघमा उनको उम्मेदवारी किन, मुख्य एजेन्डा र प्राथमिकता के-के हुन्, उनले आफ्ना प्रतिस्पर्धी कलाकार सविन श्रेष्ठलाई कसरी लिएका छन्, कलाकार संघलाई अहिले कस्तो नेतृत्व आवश्यक छ र उनको अनुभवले संघलाई कसरी फाइदा पुर्‍याउँला ?’ भन्ने जस्ता प्रश्नहरू हामीले उनी समक्ष राखेका छौँ ।

उक्त प्रश्नहरूमा उनको जवाफ के रह्यो त ?, पढ्नुहोस्, चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका कलाकार उत्तम केसीसँग मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङले गरेको संवादको सम्पादित अंश: 

अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय किन गर्नुभयो ?

विगतमा नेपाली चलचित्र कलाकारको हक, हित र संरक्षणका लागि हामीले सोचेजस्तो काम केहिपनि नभएकोले सम्पूर्ण कलाकारहरूको हक हितको लागि एउटा दस्ताबेज तयार पारेर राम्रोसँग कलाकार साथीहरूलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्य राखेर चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि दावेदारी दिएका हुन् ।

तपाईँको मुख्य एजेन्डा र प्राथमिकता के–के हुन् ?

विगतमा चलचित्र पत्रकार संघमा कलाकार साथीहरूको उपस्थित न्यून देखिन्छ । विशेष रूपमा चलेका कलाकारहरूको । आबद्ध नभएका सबै साथीहरूलाई गोलबद्ध गराउने, कालाकार सङ्घप्रति आकर्षण बढाउने हाम्रा चलचित्र कलाकारहरूलाई नयाँलाई शान, पुरानालाई सम्मान दिने, अनि विभिन्न किसिमका तालिमहरूको व्यवस्था गर्ने, अहिले विभिन्न कुराहरूको होडबाजी चलिरहेको छ नेपाल चलचित्रमा । होडबाजीको क्रमलाई हटाएर, क्रमबद्ध रूपमा नेपाली चलचित्रको विकाश, विस्तार र उत्थानको लागि केही काम गरौँ भन्ने उद्देश्यले चलचित्र कलाकार सङ्घमा जान खोजेको हुँ ।

कलाकार संघमा आबद्ध भएर संघमा कार्यकारी सदस्यदेखि सचिवसम्म काम गरिसकेको छु त्यस अनुभवको आधार छ एउटा । प्रशासनिक रूपमा पनि काम गरिसकेको अनुभव छ । चलचित्र विकाश बोर्ड सदस्य भइसकेको अनुभवले गर्दा नेपाल चलचित्र कलाकार संघमा भएका विकृति विसङ्गति सबै हटाउने काम गर्छु ।

मेरो एजेन्डा प्रस्तुत गर्न बाँकी नै छ । मेरो टिम तयार हुदैँछ । टिमसँग बसेर एउटा पत्रकार सम्मेलन हुन्छ । त्यसमा सबै विस्तृत विवरणहरू आउने छ ।

कहिले आउँछ त विवरण ?

अहिले हामी कलाकार साथीहरूसँग सल्लाह गर्दै छौँ । चैत १७ गतेसम्म चलचित्र कलाकार संघमा सूचना अनुसार ‘रिन्यु’ गर्ने कामहरू भइरहेको छ । ‘रिन्यु’ गर्ने काम सकिए पछि हाम्रा साथीहरू को को हुनुहुन्छ, त्यस मध्य छानेर मेरो एउटा टिम तयार हुन्छ ।

अहिले हाम्रो पुरै टिम तयार भइसकेको छैन । त्यसपछि १० जना सदस्यको टिम खडा भइसकेपछि बल्ल टिम पुरा हुन्छ । हामीले जसरी पनि नेपाली चलचित्र क्षेत्रमा अधिकतम नेपाली कला–संस्कृति संरक्षण गर्ने नेपाली श्रम सिपको प्रयोग गर्नुपर्छ भन्ने हिसाबले काम गर्ने हो ।

सङ्घ कलाकारहरूको पेसागत सङ्गठन भएकाले यहाँ कुनै राजनीतिक रङ्ग छैन । हामी सबै पेसाकर्मीहरू हौँ । जो कलाकार संघमा आबद्ध हुनुहुन्छ, भनेजस्तो किसिमले उहाँहरूको पिर मर्का, उहाँहरूको दुख पिडालाई उचित सम्मान र प्रोत्साहन भएको छैन, त्यसलाई अक्षरशः रूपमा गर्ने गरी मेरो उम्मेदवारी दिएको हुँ ।

कलाकारहरूले कस्तो-कस्तो समस्या भोगेको देख्नुभएको छ ?

धेरै कुराहरू छ, सुटिङ, बाहिर जाने बेलामा पर्याप्त सुविधाहरू पाएका छैनन् । कलाकारहरू दु:ख पिडा हुँदा स्वास्थ्य उपचारमा सरकारले त्यति ध्यान दिएको छैन । ती कुराहरू छन् । धेरै कलाकारहरू बाहिरबाट आउनु भएको छ । त्यसका लागि कलाकार सङ्घ छात्रावासको व्यवस्था गर्न सक्यो भने राम्रो हुन्छ । यस्तो कुराहरूमा चाहिँ आवाज उठाउन सकिन्छ कि भनेर मैले उम्मेदवारी दिएको हुँ । समस्या धेरै छन् । सरकारी स्तरबाट कलाकारहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन । परिवर्तन गराउन पर्ने छ । त्यो पनि हाम्रो लागि समस्या हो ।

पछिल्लो पुस्ताको कलाकार सविन श्रेष्ठ प्रतिस्पर्धा गर्दै हुनुहुन्छ—यसलाई कसरी लिनुभएको ?

उहाँ उठ्नु भएको छ । उहाँसँग मेरो प्रतिस्पर्धा होइन । कलाकारहरूको हक हितको लागि कसले राम्रो काम गर्न सक्छ भन्ने हो । अनुभवको आधारमा म उहाँभन्दा अलि सिनियर छु । अब कलाकार संघमा हाम्रो वसुन्धरा भुसाल, कृष्ण मल्ल, शिव श्रेष्ठ, अझ त्यो भन्दा अगाडि रवीन्द्र खड्का, शान्ति मास्के सबैले काम गर्दै गर्दै अहिले वर्तमान मोहन निरौलासम्म आइपुगेको छ । यो अनुभवीहरूले काम गर्दै गर्दै आएको संस्था भएकाले आफू पनि अनुभवको आधारमा उठ्न लागेको हु ।

सबै कालाकारहरूसँग मेरो भाइचाराको नाता छ । मैले उहाँलाई प्रतिस्पर्धाको रूपमा हेरेको छैन । म सिनियर कलाकार हुँ, उहाँ म भन्दा भाइ हुनुहुन्छ । जित हार आफ्नो ठाउँमा छ, हामी कलाकर्मी एकै हुनुपर्छ भनेर मैले उहाँलाई प्रतिस्पर्धाको रूपमा नहेरीकन एउटा साथीको रूपमा हेरेको छु ।

यहाँको नेतृत्वले कस्तो फरक ल्याउँला ?

म आइसकेपछि मेरो कामको मूल्याङ्कन कलाकारहरूले गर्नुहुनेछ । मैले गर्न सक्छु, सक्दिन भन्ने कुरा त यो ३ वर्षे कार्यकालमा मेरो अनुभवले, क्षमताले बताउने छ । कलाकारहरूको हक हितका लागि मैले के कति गर्न सक्छु भन्ने प्रस्ट भई हाल्छ ।

मैले राम्रो काम गरे भने फेरि अर्को साल पनि साथीहरूले फेरि मलाई नै चुन्नु हुन्छ होला । होइन भने अर्को पटक मैले छोड्नु पर्ने पनि हुन्छ । त्यसले गर्दाखेरि अहिलेको हिसाबमा चाहिँ म सबै कलाकारहरूको हक हितको लागि र सम्पूर्ण कलाकारहरूको वृद्धि विकासको लागि केही गर्न सक्छु भन्ने उद्देश्यका साथ उठेकोले मैले आफ्नो मात्रै कुरा गर्छु । अरूको मैले कुरा गर्न मिल्दैन ।

म भन्दा पछि आउने भाइहरू त हुँदै हुनुहुन्छ नि । अब यसपालि मैले चाहिँ जितेर राम्रो काम गर्न सक्नुपर्छ भन्ने मेरो आफ्नो धारणा हो ।

यस चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

म चुनावमा उठेको हुँ । साथीभाइहरूले मेरो मूल्याङ्कन गर्नुहुन्छ । मेरो अनुभवको आधारमा । मेरो चरित्रको आधारमा । अहिलेसम्म काम गरेको आधारमा । मलाई चिन्नुहुन्छ त्यो नै मेरो बलियो आधार हो ।

आजसम्मको मितिमा मेरो कसैसँग वैरभाव, दुस्मनी छैन । सबै सिनियरहरूलाई मैले सम्मान गरेको छु । नयाँ आउने भाइहरूलाई मैले प्रोत्साहन गरेको छु । त्यसले गर्दाखेरि मैले जित्छु भन्ने मेरो बलियो आधार त्यही नै हो ।

मतदाताहरू (कलाकारहरू) लाई के भन्न चाहनुहुन्छ ?

मेरो अनुभवका आधारमा, मेरो सीनीओरअटीको आधारमा मेरो कामको आधारमा भोट दिनुहोला । मेरो काम पहिल्यै कलाकार सङ्घमा देखिसक्नु भएको छ । परेको बेलामा जहापनि उपस्थित भइरहेको छु । म सामाजिक सेवामा पनि उत्तिकै दत्तचित्त भएर लागेको छु । कलाकारितामा पनि लागेको छु । सबैसँग समान व्यवहार गरेर हिँडेकोले यसपालिको चुनावमा मलाई मतदान गरेर विजय गराई दिनुभयो भने अझै म तपाईँहरूको सेवामा समर्पित भएर कलाकारहरूको हकहितका लागि कलाकार सङ्घमा बलियो दावेदारीका साथी म तपाईँहरूको काम निष्पक्ष रूपमा गर्ने छु । विधानले दिएका अधिकारहरूलाई अक्षरशः रूपमा पालना गर्नेछु । त्यही भन्न चाहन्छु । मलाई भोट दिनुस् । तपाईँहरूले मलाई परीक्षण गर्नुस् । अनि मात्रै स्विकारेता र भोट दिनुस् । तपाईँहरूले दिएको भोट म खेर फाल्ने छैन ।

सबैलाई हातेमालो गरेर सबैलाई सँगै लिएर काम गर्नेछु । कमसेकम एक चोटि म पनि कलाकार संघको अध्यक्ष हुनको लागि तपाईँहरूले सक्दो साथ सहयोग दिनुहोला भन्न चाहन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =