राप्रपा र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले मात्र प्रमुख सचेतकको सुविधा पाउने व्यवस्था रहेको छ ।
ऐनको परिभाषा खण्डमा ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधिसभामा दशजना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ’ भनेर उल्लेख गरिएको छ ।
फागुन २१ गतेको निर्वाचनपछि गठन भएका दलमध्ये श्रम संस्कृति पार्टीका ७ जना र राप्रपाका ५ जना सांसद रहेका कारण उनीहरू यो सुविधा पाउन अयोग्य बनेका हुन् । अन्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी का १८२, नेपाली कांग्रेस का ३८, नेपाल कम्युनिष्ट पार्टी का १७ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २५ सांसद रहेका छन् ।
ऐनको अनुसूची २ अनुसार प्रमुख सचेतकले सवारी सुविधा, प्रथम स्तरका दुई जना सवारी चालक, छुट्टै कार्यालय, एक कार्यालय सहयोगी, साइकल तथा मासिक १५ हजार रुपैयाँ अतिथि सत्कार खर्च पाउने व्यवस्था छ । तर प्रमुख सचेतकका लागि एक जना राजपत्राङ्कित द्वितीय श्रेणीको स्वकीय सचिव पाउने व्यवस्था भने हाल निष्क्रिय रहेको जनाइएको छ ।
राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुका साथै समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ । तर प्रमुख सचेतकको सुविधा पाउन भने दलसँग कम्तीमा १० जना सांसद हुनुपर्ने व्यवस्था छ ।
यस व्यवस्थाप्रति साना दलहरूले असन्तुष्टि जनाउँदै आएका छन् । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले राष्ट्रिय दल भइसकेपछि सेवा सुविधामा विभेद हुनु नहुने धारणा व्यक्त गरेका छन् ।









