ईदले राष्ट्रिय एकता सुदृढ बनाउने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–फित्रको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छन् । उनले यस पर्वले नेपालीबीचको आपसी सम्मान, सहकार्य र भाइचाराको भावनालाई थप प्रगाढ बनाउँदै मुलुकको समृद्धि र स्थायित्वमा ठोस योगदान पुऱ्याउने विश्वास व्यक्त गरेकी हुन् ।

पवित्र महिना रमजानको एक महिना लामो कठोर व्रत (रोजा) समापन भएको उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले यस पर्वको विशेष महिमामाथि प्रकाश पारेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन्, ‘महिनादिन लामो कठिन उपवासले हामीलाई सहनशीलता, त्याग र मानवताप्रतिको उच्च समर्पणको मार्ग देखाउँछ । यही पवित्र महिमाकै कारण रमजानको समयलाई सत्कर्म र संयमको महिना पनि मानिएको हो ।’

आफ्नो सन्देशमा प्रधानमन्त्रीले ईद-उल-फित्रका मूल्य र मान्यताहरूले नेपाली समाजमा सह-अस्तित्व र एकताको जगलाई अझ मजबुत तुल्याउने अपेक्षा गरिन् । विविधतायुक्त नेपाली समाजमा यस्ता सांस्कृतिक चाडपर्वले राष्ट्रिय अखण्डता र समृद्धिका लागि सबै नागरिकलाई एकजुट हुन प्रेरणा प्रदान गर्ने उनको ठम्याइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =