टीकाथली : ‘बाइक हस्पिटल’को आवरणमा यसरी हुन्थ्यो ठगी !

काठमाडौं । नाम सुन्दा लाग्छ, यो मोटरसाइकलको उपचार गर्ने थलो हो । तर, ललितपुरको महालक्ष्मी नगरपालिकास्थित टिकाथलीमा सञ्चालित ‘बाइक हस्पिटल’ले भने उपचारको आवरणमा चोरीका मोटरसाइकलको स्वरुप र पहिचान नै बदल्ने ‘सर्जरी’ गरिरहेको सनसनीपूर्ण खुलासा भएको छ ।

महानगरको वडा नं. ५ मा ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट चोरी भएका महँगा मोटरसाइकलहरूको इन्जिन र चेसिस नम्बर किर्ते गर्ने संगठित गिरोहलाई प्रहरीले कानुनी फन्दामा पारेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले सो ग्यारेजमा छापा मारेपछि यस अवैध धन्दाको पर्दाफास भएको हो ।

प्रहरी अनुसन्धानका अनुसार, यो गिरोहले चोरीका मोटरसाइकलहरूको वास्तविक चिनारी मेटाउन इन्जिन र चेसिस नम्बरमा प्राविधिक फेरबदल गर्ने गरेको पाइएको छ । यति मात्र नभई, ती मोटरसाइकललाई कानुनी रूपमा वैध देखाउन सरकारी कागजात समेत किर्ते गरी नक्कली ‘ब्लुबुक’ (सवारी दर्ता किताब) तयार पारेर बिक्री गर्ने गरेको खुलेको छ ।

यस अवैध धन्दामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा सर्लाहीको बरहथवा–२ घर भई हाल टिकाथली बस्ने २३ वर्षीय विशाल महतो, काठमाडौँको नरेफाँट बस्ने २९ वर्षीय भीम बहादुर अधिकारी र रौतहटको वृन्दावन–९ का २७ वर्षीय सञ्जीव कुमार कुसवाहा रहेका छन् । उनीहरूले चोरी गर्ने, नम्बर प्लेट बदल्ने र सरकारी कागजात किर्ते गर्ने काममा आपसी जिम्मेवारी बाँडफाँट गरेरै यो धन्दा चलाउँदै आएको प्रहरीको दाबी छ ।

सो ग्यारेजबाट प्रहरीले विभिन्न ब्राण्डका चार वटा महँगा मोटरसाइकल बरामद गरेको छ । जसमा केटीएम ड्यूक २५० सीसी, केटीएम ड्यूक २०० सीसी, रोयल इन्फिल्ड ३५० सीसी र केटीएम एड्भेन्चर २५० सीसी रहेका छन् । खानतलासीका क्रममा उनीहरूको साथबाट किर्ते गरिएका ३ थान ब्लुबुक समेत फेला परेको छ ।

पक्राउ परेका तीनै जना विरुद्ध चोरी तथा किर्ते मुद्दामा म्याद थप गरी प्रहरी वृत्त सातदोबाटोले विस्तृत अनुसन्धान अघि बढाएको छ । यो गिरोहले अहिलेसम्म कति वटा चोरीका सवारी साधन यसरी ‘सेतो’ बनाएर बेचिसकेको छ र यसको सञ्जालमा अन्य को-को संलग्न छन् भन्नेबारे प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =