स्कोर्पियो चलाउँदा चलाउँदै बेहोस भएका योगेशको मृत्यु

काठमाडौं । झापामा गुडिरहेको गाडीभित्रै अचानक बेहोस भएका एक चालकको मृत्यु भएको छ । बिहीबार साँझ बिर्तामोडबाट मोरङको पथरीतर्फ जाँदै गरेको अवस्थामा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङको पथरी-९ निवासी ४५ वर्षीय योगेश धिमाल रहेका छन् । बिहीबार साँझ करिब ६ देखि ७ बजेको समयमा प्रदेश १-०४-००१ च ००८० नम्बरको स्कोर्पियो गाडी चलाएर गन्तव्यतर्फ जाँदै गर्दा झापाको कमल गाउँपालिका-५, सीतापुरीमा उनी अचानक अस्वस्थ भएका थिए ।
प्रहरीका अनुसार गाडी चलाइरहेकै अवस्थामा छातीमा असहज महसुस भएपछि धिमालले गाडीलाई सडकको किनारामा ‘साइड’ लगाएका थिए । गाडी रोकेलगत्तै उनी सिटमै बेहोस भएको बताइएको छ । गाडीमा सवार यात्रुहरूले उनलाई पटक-पटक बोलाउँदा र उठाउन खोज्दा पनि कुनै प्रतिक्रिया नदिएपछि तत्कालै उपचारका लागि दमकस्थित निम्स अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
चालक धिमालको असामयिक निधनको कारणबारे इलाका प्रहरी कार्यालय दमकले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।









