अमेरिकामा श्रीमती र छोरी हत्या प्रकरण : ‘बडी क्यामरा’ भिडिओ सार्वजनिक

भर्जिनिया । अमेरिकाको फेयरफ्याक्स काउन्टी प्रहरीले गत फेब्रुअरी २३ मा भर्जिनियाको मान्टुआस्थित ‘मार्गेट म्यानर अपार्टमेन्ट’ मा एक व्यक्तिले आफ्नो परिवारका सदस्यहरूको ज्यान लिइरहेकाे ‘बडी क्यामरा’ भिडिओ सार्वजनिक गरेको छ । उक्त भिडिओमा भर्खरै नेपालबाट अमेरिका गएका छत्र थापाले आफ्नै श्रीमती बिन्दा थापा र छोरी ममता थापालाई छुरा प्रहार गर्दै गरेकाे देखिन्छ ।
आफ्नो परिवारका सदस्यहरूको ज्यान लिइरहेका छत्रलाई रोक्न खोज्दा प्रहरीले चलाएको गोलीबाट उनको पनि घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी प्रमुख केभिन डेभिसले उक्त घटनास्थललाई ‘रक्तपातपूर्ण’ भन्दै वर्णन गरेका छन् । प्रहरीका अनुसार, घटना भएको दिन बिहान छत्रका ज्वाइँ सन्तोष बस्नेत र छोरी ममता थापा काममा जाने तयारीमा थिए । सन्तोष बाहिर पार्किङमा आफ्नो कारबाट हिउँ पन्छाउँदै गर्दा अपार्टमेन्ट भित्रबाट चिच्याएको र ठुलो आवाज सुनेपछि भित्र दौडिएका थिए ।
बाल्कोनीको ढोकाबाट भित्र छिर्दा उनले एक वर्षको छोरा एक्लै रोइरहेको भेटे भने श्रीमती ममता रगताम्मे अवस्थामा ढोकातिर भागिरहेको देखे। ममताले अन्तिम पटक चिच्याउँदै भनेकी थिइन्, ‘उसले हामीलाई माऱ्यो, उसले हामीलाई माऱ्यो’
सन्तोषले आफ्ना ससुरा छत्र थापाले १० इन्च लामो मासु काट्ने ‘क्लिभर’ जस्तो देखिने धारिलो हतियारले सासू बिन्दा थापामाथि अन्धाधुन्ध प्रहार गरिरहेको बीभत्स दृश्य देखे । त्यसलगत्तै छत्रले ज्वाइँ सन्तोषमाथि पनि आक्रमण सुरु गरेका थिए ।
बिहीबार सार्वजनिक गरिएको प्रहरीको ‘बडी क्यामरा’ फुटेजमा एक युवा प्रहरी अधिकारी घटनास्थलमा पुग्दाको दृश्य कैद छ । प्रहरी सिढीबाट तल झर्दा ममता थापा बाहिरै रगतमा लतपतिएको अवस्थामा देखिन्छिन् । प्रहरीले उनलाई सिढीमा आउन आग्रह गरे पनि उनी हलचल गर्न सक्ने अवस्थामा थिइनन् ।
भित्र बच्चा रोएको आवाज सुनेपछि प्रहरी ढोका फोडेर भित्र छिर्छन् । त्यहाँ छत्र थापाले सन्तोष बस्नेतलाई भुइँमा लडाएर छुरा प्रहार गरिरहेका थिए । प्रहरीले पटक-पटक ‘हतियार फाल’ भन्दा पनि छत्रले प्रहार नरोकेपछि प्रहरीले गोली चलाउनुपरेको थियो ।








