धुलो टकटकाएर पुनः मुलुकको नेतृत्वमा फर्कन्छौँ : वर्षमान पुन

काभ्रेपलान्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’ ले निर्वाचनको परिणामबाट विचलित नहुन पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा काभ्रेको अनेकोटमा आयोजित शहीदको प्रतिमा अनावरण तथा परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पुनले हारबाट नतर्सिन र धुलो टकटकाएर पुनः उठ्न कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।

नेता पुनले बदलिँदो राजनीतिक परिवेशमा पार्टीको विचार, राजनीति, सङ्गठन, नेतृत्व र कार्यशैलीको निर्मम समीक्षा गर्ने समय आएको बताए । ‘हामीले आफूलाई जनआकांक्षा र मुलुकको आवश्यकताअनुसार पुनर्गठित गर्नुपर्नेछ,’ उनले भने, ‘धुलो टकटकाएर फेरि उठ्नेछौँ र कुनै दिन पुनः यो मुलुकको बागडोर सम्हाल्ने गरी तयार हुनेछौँ ।’

आफूहरू रूपान्तरण र सुशासनको कार्यदिशासहित निर्वाचनमा होमिए पनि जनताले आफूहरूलाई समेत ‘पुरानै शक्ति’ को श्रेणीमा राखेर मूल्याङ्कन गरेको पुनले स्वीकार गरे । ‘हामीले अवस्था बदल्ने प्रयत्न गरेकै हौँ, तर जनताले हामीलाई पनि पुरानै ढर्राको दल ठान्नुभयो,’ पुनको भनाइ थियो । उनले कुनै पनि अहङ्कार वा निराशामा नफसी शहीदहरूको बलिदानलाई शक्तिमा बदलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

विगतको सशस्त्र सङ्घर्षको स्मरण गर्दै पुनले थपे, ‘कुनै समय ६० जना पूर्णकालीन कार्यकर्ताबाट सुरु भएको आन्दोलनले देशमा गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता जस्ता उपलब्धि ल्याएको हो । नेतृत्वले हार नमानेकै कारण ती ठुला परिवर्तन सम्भव भएका हुन् ।’

नेता पुनले भदौ २३ र २४ गते भएका घटनाहरूलाई लिएर वर्तमान सत्ता गठबन्धनको कडा आलोचना गरे । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवामाथि गोली चलाउने प्रवृत्तिको आफूहरू विरोधी रहेको उनले स्पष्ट पारे । प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले सुरु गरेको सुशासनको अभियानकै जगमा युवाहरूले विद्रोह गरेको उनको दाबी थियो ।

‘हामीले सदन र सडकबाट पटक-पटक सरकारलाई खबरदारी गरेका थियौँ, देश बंगलादेशजस्तो विस्फोटको दिशामा जाँदैछ भनेर सचेत गराएका थियौँ,’ पुनले भने, ‘तर सत्तामा रहेका कांग्रेस र एमालेले हाम्रो चेतावनी सुनेनन्, जसको परिणाम जनभावना विस्फोटको रूपमा देखियो ।’

निर्वाचनमार्फत बलियो जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै पुनले जनताको विश्वासलाई कदर गर्न सुझाव दिए । उनले रास्वपालाई सुशासन, सामाजिक समानता, रोजगारी सिर्जना र सन्तुलित कूटनीतिमा केन्द्रित हुन आग्रह गरे । ‘नयाँ दलहरूलाई प्राप्त जनमत हामी सबैका लागि सच्चिने अवसर हो,’ पुनले भने, ‘मुलुकको स्वाधीनता र सुशासनका लागि हुने राम्रा काममा हाम्रो रचनात्मक सहयोग रहनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =