सचिन तिमल्सेना भन्छन्- राजीनामाले तपाईँको राजनीतिक कद झल्काउँछ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सेनाले हालैको चुनावी परिणामलाई लिएर पार्टी नेतृत्वको बचाउ गर्दै पराजयको मुख्य कारण प्रणालीगत कमजोरी भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले चुनावी हारको दोष कुनै एक व्यक्तिलाई मात्र दिनु अन्यायपूर्ण हुने जिकिर गरेका हुन् ।

नेता तिमल्सेनाले पार्टीले पछिल्लो एक दशकदेखि अपनाएको सञ्चालन पद्धति र जनतासँगको टुट्दो सम्बन्ध नै पराजयको प्रमुख कारक रहेको उल्लेख गरेका छन् । उनले पार्टीभित्र मौलाएको अपारदर्शी गठबन्धन, भ्रष्टाचारका गम्भीर आरोप र मूल्यहीन राजनीतिको शृङ्खलाले कांग्रेसलाई कमजोर बनाएको तर्क गरे । ‘यी तमाम बेथितिका विरुद्ध जसले निरन्तर सुधारका मुद्दा उठाएर सङ्घर्ष गर्‍यो, उसैलाई हारको जिम्मेवार ठहर्‍याउनु न्यायसङ्गत हुँदैन,’ उनले लेखेका छन् ।

तत्कालीन नेतृत्वले समयमै कार्यकर्ता र आम नागरिकको मनोविज्ञान बुझ्न नसक्दा पार्टीले यो क्षति व्यहोर्नुपरेको तिमल्सेनाको ठहर छ । समयमै जनभावनाको कदर भएको भए विशेष अधिवेशनको अवस्था नै सृजना नहुने उनले बताए । विशेष अधिवेशनले पार्टीमा नयाँ प्राण भर्ने काम गरे तापनि सुधारको ठोस सन्देश जनताको घरदैलोसम्म पुर्‍याउन पर्याप्त समय अभाव भएको उनको बुझाइ छ ।

निर्वाचनमा अपेक्षित नतिजा नआएपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने निर्णयलाई तिमल्सेनाले उच्च राजनीतिक संस्कारको रूपमा व्याख्या गरेका छन् । उनले भनेका छन्, ‘जिम्मेवारी लिँदै दिएको राजीनामाले तपाईंको राजनीतिक कद र नैतिकतालाई अझ उचो बनाएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =