गगनको राजीनामा फगत स्टन्ट र फन्डा : सूर्य थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनमा व्यहोरेको पराजयपछि दिएको भनिएको राजीनामालाई लिएर नेकपा एमालेका नेता सूर्य थापाले कडा व्यङ्ग्य र टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता थापाले यसलाई ‘राजनैतिक स्टन्ट र फन्डा’ को संज्ञा दिएका हुन् ।

गगन थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएको समाचार सार्वजनिक भए पनि त्यसको आधिकारिकता पुष्टि नभएको भन्दै नेता थापाले आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो भनेको पाइँदैन, राजीनामाको औपचारिक पत्रसमेत सार्वजनिक पनि छैन । यो फगत स्टन्ट, फन्डा र मिलोमतो जस्तो मात्रै देखिन्छ ।’

नेता थापाले ७८ वर्ष लामो इतिहास बोकेको कांग्रेस जस्तो पार्टीमा अभ्यास गरिएको यो प्रकरणलाई ‘बचकनापनको भद्दा मजाक’ भनेका छन् । आधिकारिकता पुष्टि गर्नुपर्ने प्रवक्ता बेखबर रहेको र राजीनामा बुझेको भनिएका उपसभापति स्वयं अलमलमा परेको देखिएकाले यसको विश्वसनीयतामा उनले प्रश्न उठाएका छन् ।

‘यदि राजीनामा दिएको सही सत्य हो भने बिहान ८:०० बजेसम्म केन्द्रीय कार्यालय, प्रवक्ता, उपसभापति र स्वयं सभापतिले जिम्मेवारी लिने, जवाफदेही हुने र आधिकारिकता पुष्टि एवं सार्वजनिक गर्ने हिम्मत देखाउनु पर्ने नि !’ उनले चुनौती दिँदै भनेका छन् ।

सभापति थापाको सचिवालय र सर्लाही-४ को निर्वाचन परिणामलाई समेत जोड्दै नेता थापाले कांग्रेस नेतृत्वको पछिल्लो कदममा नैतिकता, जवाफदेहिता र पारदर्शिताको अभाव रहेको टिप्पणी गरेका छन् । उनले यस प्रक्रियालाई ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ प्रवृत्तिको संज्ञा दिँदै हरेक कदम आधिकारिक र स्पष्ट हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =