‘पटके कर’ कदापि स्वीकार्य हुँदैन, असुली भए प्रमाणसहित तुरुन्त जानकारी दिनु: आशिका तामाङ

काठमाडौँ । धादिङ १ बाट निर्वाचित रास्वपाकी सांसद आशिका तामाङले आफ्नो क्षेत्रभित्र पर्ने कुनै पनि राजमार्गमा ‘पटके कर’ वा यस्तै प्रकृतिका अवैध कर संकलन कार्य कदापि स्वीकार्य नहुने स्पष्ट पारेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस प्रकारका गतिविधि तुरुन्त बन्द गर्न सम्बन्धित सबै पालिका तथा सरोकारवाला निकायलाई निर्देशन दिएकी छन् ।
उनले सर्वोच्च अदालतले २०८२ माघ २८ गते राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गहरूमा स्थानीय तहले कर वा सडक उपभोग शुल्क उठाउन नपाउने भनी ऐतिहासिक अन्तरिम आदेश जारी गरिसकेको भन्दै यस आदेशअनुसार अब राजमार्गमा ढाट, गेट वा टेबुल राखी सवारी साधनबाट रकम असुल गर्नु गैरकानुनी, असंवैधानिक तथा अदालतको आदेशको ठाडो उल्लङ्घन भएको बताएकी छन् ।
उनले लेखेकी छन् ‘सर्वोच्च अदालतले २०८२ माघ २८ गते राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गहरूमा स्थानीय तहले कर वा सडक उपभोग शुल्क उठाउन नपाउने भनी ऐतिहासिक अन्तरिम आदेश जारी गरिसकेको छ। यस आदेशअनुसार अब राजमार्गमा ढाट, गेट वा टेबुल राखी सवारी साधनबाट रकम असुल गर्नु गैरकानुनी, असंवैधानिक तथा अदालतको आदेशको ठाडो उल्लङ्घन हो ।
म, धादिङ क्षेत्र नं. १ बाट निर्वाचित जनप्रतिनिधिको हैसियतले, आफ्नो क्षेत्रभित्र पर्ने कुनै पनि राजमार्गमा अब उपरान्त ‘पटके कर’ वा यस्तै प्रकृतिका अवैध कर संकलन कार्य कदापि स्वीकार्य नहुने स्पष्ट गर्दछु। यस प्रकारका गतिविधि तुरुन्त बन्द गर्न सम्बन्धित सबै पालिका तथा सरोकारवाला निकायलाई निर्देशन दिन्छु।
यदि कसैले यो निर्देशन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको पाइएमा, सम्बन्धित नगरप्रमुख वा गाउँपालिका अध्यक्ष विरुद्ध अदालतको अवहेलना सम्बन्धी कडा कानुनी प्रक्रिया अगाडि बढाइनेछ। नेपालको संविधानको धारा २३६ ले एक स्थानबाट अर्को स्थानमा हुने वस्तु ढुवानीमा कुनै पनि प्रकारको बाधा वा कर लगाउन निषेध गरेको छ। त्यसैले राजमार्गमा सवारी रोकी पैसा असुल गर्नु जनताको अधिकारमाथिको गम्भीर हस्तक्षेप हो। हामी विधिको शासन स्थापना गर्न र जनतालाई राहत दिन निर्वाचित भएका हौँ। धादिङ १ मा अब कानुनको शासन चल्नेछ कुनै व्यक्तिको मनपरी वा गैरकानुनी अभ्यास होइन। यदि तपाईँको क्षेत्रमा अझै पनि यस्तो कर असुली भइरहेको छ वा ढाट राखिएको छ भने, कृपया प्रमाणसहित मलाई तुरुन्त जानकारी गराउनुहोस्। “हामी सुशासन कायम गरी भ्रष्टाचार अन्त्य गर्न आएका हौँ।’
उनले धादिङ-१ मा अब कुनै व्यक्तिको मनपरी वा गैरकानुनी अभ्यास नभई कानुनको शासन चल्ने बताएकी छन् । उनले उक्त क्षेत्रमा अझै पनि यस्तो कर असुली भइरहेको छ वा ढाट राखिएको छ भने, कृपया प्रमाणसहित तुरुन्त जानकारी गराउन अनुरोध गरेकी छन् ।









