‘निर्माण होलिडे’ घोषणा गर्न महासंघको माग

काठमाडौँ । निर्माण सामग्री, इन्धन र ग्यासको अभाव तथा अत्यधिक मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ ।

पछिल्लो दुई महिनादेखि देशभित्र भएको निर्वाचन र अन्तर्राष्ट्रिय स्तरमा बढेको द्वन्द्वका कारण महँगी बढेको र काम समेत प्रभावित बनेको निर्माण व्यवसायीहरूको बुझाइ छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय आन्तरिक र बाह्य कारण निर्माण क्षेत्र प्रभावित बन्दै गएको बताए ।

उनकाअनुसार सरकारले आफ्नो ध्यान निर्वाचनमा केन्द्रित गर्दा निर्माण क्षेत्रमा ध्यान दिएन । सरकारले सामान्य खर्च धान्नसमेत कठिनाइ भोगिरहेको र जसको प्रत्यक्ष असर पुँजीगत खर्चमा परेको उनको भनाइ ।

उनकाअनुसार हालसम्म करिब १९ प्रतिशत मात्रै विकास खर्च भएको छ र निकट भविष्यमा पनि पुँजीगत खर्च बढ्ने सम्भावना न्यून देखिएको छ । अर्थ मन्त्रालयले न्यून बजेटमै सरकार सञ्चालन गर्न खोजिरहेको र विकासे मन्त्रालयहरूमा छुट्याइएको बजेट कटौती गर्ने प्रयास भइरहेको अनुभूति आफूहरूले गरिरहेको उनको भनाइ छ ।

यस्तै, खाडी क्षेत्रमा पछिल्लो समय भएको युद्धका कारण इरान, अमेरिका लगायतका देशहरू प्रभावित हुँदा नेपालमा इन्धन आपूर्तिमा समस्या आएको सिंहले बताए । विगत १४ दिनदेखि इन्धन र अन्य आवश्यक सामग्रीको आपूर्ति अवरुद्ध जस्तै बनेको छ, जसले बजारलाई झन् संवेदनशील बनाएको उनको भनाइ छ ।

अध्यक्ष सिंहले भने ‘हालै बजारमा भएको निर्माण सामाग्री, इन्धन लगायतको अभाव र अत्यधिक रूपमा भएको मूल्यवृद्धिले निर्माण क्षेत्रलाई प्रभावित गरेको छ । विगत २ महिनादेखि नेपालमा भएको निर्वाचन र अन्तर्राष्ट्रिय रूपमा देखिएको द्वन्द्वका कारणले चाहेजस्तो निर्माणको गति अघि बढाउन सकिएको छैन । एकातिर सरकारले आफ्नो ध्यान निर्वाचनतिर केन्द्रित ग¥यो भने वर्तमान अर्थतन्त्रले आफ्नो साधारण खर्च पनि धान्न नसक्ने अवस्था छ । मुलुकमा साधारण खर्च धान्न पनि हम्मेहम्मे परिरहेको अवस्थामा त्यसको असर पुँजीगत खर्चमा पर्न गएको छ र त्यसले गर्दा विकास खर्च पनि न्यून हुन गइरहेको छ । अहिलेसम्म १९ प्रतिशतको हाराहारीमा विकास खर्च भएको छ । आगामी दिनमा पनि पुँजीगत खर्च बढ्ने सम्भावना देखिँदैन । अर्थ मन्त्रालयले कसरी हुन्छ, न्यून बजेटले सरकार चलाइरहेको छ र विकासे मन्त्रालयमा छुट्टाएको बजेट कटौती गर्न सकिन्छ भनेर प्रयास गरेको निर्माण व्यवसायीले अनुभूति गरिरहेको अवस्था छ । अहिले अनपेक्षित रूपमा खाडीमा भएको युद्धले इरान, अमेरिकालगायतका देशहरूमा आक्रमण हुँदा नेपालमा आउने इन्धनलगायतका सामाग्री विगत १४ दिनदेखि समान आपूर्तिमा समस्या भइरहेको छ । यसले बजार संवेदनशील भएको छ । केही कमिसनखोरी व्यवसायी बिटुमिन महँगाइरहेका छन् । महँगोमा खरिद गरेर उनीहरूले धेरै पैसामा बेचेका होइनन्, सस्तोमा खरिद गरेर महँगोमा बेचिरहेका छन् । अन्तर्राष्ट्रिय परिवेशअनुसार समान नपाउने निश्चित भएपछि व्यवसायीहरूले महँगोमा विक्री गरिरहेका छन्। विगत २–३ महिनादेखि ग्यास अभाव भएको छ र निर्माण क्षेत्र प्रभावित भएको छ । हामीले हाम्रा निर्माण मजदुरहरूलाई काममा लगाउन सकिरहेका छैनौँ ।’

अध्यक्ष सिंहले निर्माण क्षेत्रमा प्रयोग हुने बिटुमिन लगायतका सामग्रीमा कृत्रिम अभाव सिर्जना गरिएको र केही व्यवसायीले सस्तोमा खरिद गरेर महँगोमा बेच्ने काम गरिरहेको आरोप पनि लगाए । अन्तर्राष्ट्रिय बजारमा आपूर्ति अनिश्चित भएपछि स्थानीय स्तरमा मूल्य वृद्धि चुलिएको उनको भनाइ छ ।

सिंहकाअनुसार विगत २–३ महिनादेखि ग्यास अभाव हुँदा निर्माण कार्य थप प्रभावित भएको छ । मजदुरहरूलाई नियमित रूपमा काममा लगाउन नसकिएको अवस्था रहेको उनको भनाइ छ । सिंहकाअनुसार प्रशासनले बोतलमा इन्धन विक्रीमा प्रतिबन्ध लगाएपछि पनि निर्माण कार्यमा थप समस्या सिर्जना भएको छ ।

इन्धन, बिटुमिन र डण्डीको मूल्य शतप्रतिशतसम्म वृद्धि भएको छ । यस्तो जटिल परिस्थितिमा सरकारले निर्माण क्षेत्रलाई राहत दिन ‘निर्माण होलिडे’ घोषणा गर्नुपर्ने उनले माग समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 19 =