अर्को निर्वाचनमा प्रतिपक्षीविहिन हुनेगरि काम गर्नुपर्नेछ: डिपि अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताएका छन् ।

रास्वपाले आयोजना गरेको सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उनले आगामी पाँच वर्ष पार्टीले प्रतिपक्षविहीन बनाउने गरी काम गर्नुपर्ने बताएका हुन् ।

उनले आगामी निर्वाचनसम्म पुग्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी पार्टीलाई मत दिने अवस्था सिर्जना गर्नुपर्ने बताए । उक्त लक्ष्य हासिल गर्नको लागि भाषण वा सीमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने भन्दै उनले सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए ।

उनले अब बन्ने सरकारले सुशासन कायम गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने र भ्रष्टाचार अन्त्य गर्नेगरी काम गर्नुपर्ने उल्लेख गरे । उनले निर्वाचनमा पार्टीले जित हासिल गरे पनि देश र जनताले जित्न बाँकी रहेको बताए । उपसभापति अर्यालले दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति अनुभूत हुने वातावरण सिर्जना गरी जनताको सरकार रहेको आभास दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले पार्टीका सांसदहरूलाई आफ्नो क्षमता र लगनशीलता राष्ट्रहितमा समर्पित हुन आग्रह गरे । उनले इतिहास लेख्ने सुनौलो अवसर आएको भन्दै यसलाई सदुपयोग गर्न सबै जिम्मेवार हुनुपर्ने बताए । यसलाई सदुपयोग गर्न नसकेमा आफैँलाई माफ गर्न गाह्रो हुने उनको भनाई छ । उनले आन्तरिक द्वन्द्व, खिचातानी र खुट्टा तान्ने प्रवृत्तिबाट टाढा रहनुपर्ने पनि बताए ।

उनले भने ‘यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गर्‍यो । अब देशले जित्न बाँकी छ, जनताको जित्न बाँकी छ । हामीले देशले जित्नेगरी र दूरदराजका सबै नेपाली नागरिकले जित्नेगरी सबै नेपालीलाई अब भने मेरा लागि सरकार छ भनेर महसुस गराउने सरकार निर्माण गरेर डेलिभरी र सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्य गर्न हामीले काम गर्नुपर्ने छ । विदेशमा रहेका नेपालीहरूलाई नेपाल फर्काउनुपर्नेछ । हाम्रो लगनशीलता र हाम्रो क्षमतालाई नेपाली जनताको लागि, यो देशको लागी सुम्पिनुपर्नेछ । यो इतिहास लेख्ने सुवर्ण अवसर हो, हामीले यसलाई सदुपयोग गर्न सकेनौँ भने सायदै हामी आफैँले आफैँलाई माफ गर्न गाह्रो हुनेछ । यसतर्फ गम्भीर हुन म आग्रह गर्छु । यो देश निर्माणमा तपाईँको हरेक मिनेट लगानी हुनेछ । आन्तरिक द्वन्द्व, आन्तरिक खिचातानी, आन्तरिक लडाइँ, खुट्टा तान्ने प्रवृत्तिबाट हामी धेरै टाढा जानुपर्नेछ । यो देशलाई नयाँ सन्देश दिनुपर्नेछ, जनतलाई नयाँ सन्देश दिनुपर्नेछ । अर्को निर्वाचनसम्म पुग्दै गर्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने सिर्जना अवस्था होस् । त्यो काम भाषण गरेर र सधैँ सभापति रवी लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह दौडाएर सम्भव छैन । सबै जनाले आफ्नो ठाउँबाट काम गरेर त्यो रिजल्ट निकाल्नुपर्नेछ ।’

पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहप्रति भरोसा गरेर हालको जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले आगामी दिनमा पार्टीका सबै सदस्यहरूको मेहनतले पार्टीलाई पहिलो बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fifteen =