खाडीका १० वटै दूतावासबाट नियमित सेवा प्रवाह जारी, रोकिएको श्रम स्वीकृति खुलाउन छलफल सुरु

काठमाडौँ । पश्चिम एशियामा सुरक्षा चुनौती थपिएको भएपनि त्यहाँ रहेका नेपालका १० वटै कूटनीतिक नियोग (दूतावास) हरूले आफ्नो नियमित सेवालाई निर्बाध रूपमा सञ्चालन गरिरहेको सरकारले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले दूतावासहरू बन्द नभएको र नेपालीहरूले पाउने सेवा सुविधामा कुनै कटौती नभएको स्पष्ट पारेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार दूतावासहरूले राहदानी (पासपोर्ट) नवीकरणलगायतका सम्पूर्ण कन्सुलर सेवाहरू निरन्तर प्रदान गरिरहेका छन् । सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अनलाइनबाट दिन सकिने सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगिएको छ । उनले केन्द्रबाट पनि दूतावासहरूलाई आवश्यक पर्ने सबै प्रकारका समन्वय र सहयोग भइरहेको बताए ।

उनले भने ‘हाम्रा १० वटा नियोगहरू निर्बाध खुलिरहेको अवस्था छ । उहाँहरूले पासपोर्ट सेवासहित अन्य जति पनि सेवाहरू छन्, त्यो सेवाहरू उहाँले पु¥याइराख्नुभएको छ । कतिपय सेवा त अहिले अनलाइन नै गर्न सकिने अवस्था छ, पहिलेदेखि नै अनलाइन नै थियो र कतिपय अवस्था यो अवस्थालाई हेरेर अनलाइनबाट गर्न सकिने कामहरूलाई अनलाइनबाट, फिजिकल्ली नै प्रिजेन्ट हुनुपर्ने कामहरू जस्तो पासपोर्टको इनरोलमेन्टका कुराहरू हुन्छन् त्यसका लागि फिजिकल्ली आउन आउनका लागि टाइम लिएर आउने जुन प्रबन्ध छ, त्यसलाई सुचारु राखिएको अवस्था छ । हामीले यहाँ केन्द्रबाट पनि उहाँहरूलाई आवश्यक सहयोगका लागि समन्वय गरी नै राखेका छौँ । जहाँसम्म श्रम स्वीकृतिको विषय छ यहाँलाई जानकारीमै छ, श्रम स्वीकृति अहिले रोकिएको अवस्था छ । नयाँको लागि पनि र आइसक्नु भएको र पुनः त्यो क्षेत्रमा जानेहरूको लागि पनि अहिले बन्द भएको अवस्था छ । तर यसलाई के गर्ने भन्ने विषयमा पनि आज छलफल भएको छ र यो छलफलले कुनै टुङ्गो लाग्छ छिटै भन्नेमा हामी आशावादी हुनसक्छौँ । पासपोर्टको इनरोलमेन्ट (बायोमेट्रिक) जस्ता भौतिक रूपमै उपस्थित हुनुपर्ने कामहरूका लागि अग्रिम समय ९टाइम० लिएर आउने प्रबन्ध मिलाइएको छ । यसले गर्दा सेवाग्राहीलाई सुरक्षित र सहज भएको छ, ।’

यसैबीच, सुरक्षा संवेदनशीलतालाई हेरेर सरकारले हाल पश्चिम एशियाका केही देशहरूका लागि स्थगित गरेको श्रम स्वीकृतिको विषयमा पनि पुनर्विचार हुने भएको छ । हाल नयाँ जाने श्रमिक र बिदामा आएर पुनः फर्कने (रि–इन्ट्री) दुवैका लागि श्रम स्वीकृति रोकिएको छ । तर यस विषयमा सरोकारवाला निकायहरूसँग गम्भीर छलफल भइरहेको र छिट्टै कुनै सकारात्मक टुङ्गो लाग्नेमा मन्त्रालय आशावादी रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =