पश्चिम एशियामा रहेका अधिकांश नेपाली सुरक्षित: आवश्यक परे उद्धार गर्न तयार

काठमाडौँ । पश्चिम एशियाली मुलुकहरूमा तनाव बढिरहेको भएपनि त्यहाँ रहेका अधिकांश नेपालीहरू सुरक्षित रहेको सरकारले दाबी गरेको छ ।

परराष्ट्र मन्त्रालयले विभिन्न तीनवटा च्यानल (माध्यम) मार्फत त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको र हालसम्मको तथ्यांकले आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार नेपालीहरूको अवस्था बुझ्न मन्त्रालयमा आपत्कालीन कन्ट्रोल रुम स्थापना गरिएको छ । जहाँ फोन र इमेलमार्फत नेपालमा रहेका आफन्त र खाडीमा रहेका नेपालीले सिधै सम्पर्क गर्न सक्छन् । दोस्रो माध्यमका रूपमा कन्सुलर सेवा विभागले अनलाइन फारमको व्यवस्था गरेको छ ।

हालसम्म करिब ७५ हजार नेपालीले उक्त फारम भरेर आफ्नो अवस्थाबारे जानकारी गराएका छन् । पछिल्ला केही दिन यता असुरक्षित छु भन्ने नेपालीहरूको संख्या अत्यन्त न्यून रहेको बताए । तेस्रो माध्यमका रूपमा त्यहाँ रहेका १० वटै दूतावासले हटलाइन, इमेल र म्यासेज सिस्टममार्फत एनआरएनए र नेपाली समुदायसँग सहकार्य गरिरहेका छन् ।

उडानहरू बन्द भएका देशहरूमा पनि बिस्तारै उडान सुचारु हुन थालेको र ट्रान्जिटमा फसेका सयौँ नेपालीहरूलाई गन्तव्यमा पठाउने वा स्वदेश फर्काउने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

उनले भने ‘सुरुवाती दिनमा फारम भर्नेमध्ये करिब ६ हजारले आफू असुरक्षित रहेको बताए पनि पछिल्ला केही दिनयता असुरक्षित छु भन्नेहरूको संख्या अत्यन्तै न्यून छ । यसको अर्थ त्यहाँ रहेका अधिकांश नेपाली दाजुभाइ दिदीबहिनीहरू सुरक्षित हुनुहुन्छ । उद्धार गर्नुपर्ने परिस्थिति आएमा के–कस्ता विकल्पहरू हुन सक्छन् भन्ने विषयमा हामीले गहिरो गृहकार्य गरिरहेका छौँ । आवश्यक परेको खण्डमा नेपाल सरकारले गर्नसक्ने कुनैपनि प्रयासमा कमी आउन दिनेछैनौँ । त्यसैले कोही पनि नआत्तिन र निश्चिन्त रहन मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’

भिसाको व्यवस्था गरेर अर्को देशको बोर्डरमार्फत गन्तव्यमा पठाउने काममा दूतावासहरू सक्रिय छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 1 =