मिटरब्याज पीडकहरूमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ । मिटरब्याज पीडिकहरुलाई कडा कारबाही गर्न माग गर्दै आएका पीडितहरूले सोमवार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।
काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पक्राउ परेका पीडिकहरुलाई तत्काल कडा कारबाही गर्न सरकारसँग माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन ।
शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरूलाई हाल सो परिसरमा नियन्त्रणमा लिइएको छ । लाखौँ रुपैयाँ ठगी गर्ने उनीहरूलाई कडा कारबाही गर्न आफूहरू सो परिसरमा प्रदर्शनका लागि आएको पीडित मञ्जु श्रेष्ठले बताइन् । उनले पीडकहरूले आफूहरूमाथि ठुलो अन्याय गरेकाले उनीहरूलाई सरकारले कडा कानुनी कारबाही गर्नुपर्ने माग गरिन् ।
श्रेष्ठले भनिन् ‘हामी यस्ता कुख्यात मिटरब्याजीहरुलाई निर्मूल पार्नुपर्छ । यिनलाई हदैसम्म कारबाही गर्नुपर्छ । यस्ताहरूलाई समाजवाद तिरस्कार गर्नुपर्दछ भन्ने अभियानमा हामी लागेका छौ । हामी यहाँ ५ सय जना भन्दा बढी पीडित छौ । तर, ४५ जनाले उजुरी दर्ता गरेका छौँ ।’
त्यसैगरी उनीहरूले पीडकहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया सुरु गरिएको भन्दै नेपाल सरकार, अदालत र प्रहरीलाई पनि धन्यवाद दिएका छन् । आफूहरूमाथि ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरूलाई कडा कारबाहीका लागि दबाब दिनुपरेको अर्की पीडित सुनिता चापागाईँ खतिवडाले बताए ।
उनले नेपालमा धेरैले ठगीको सामना गर्नुपरेकाले त्यस्ता अपराध कर्ममा लागेकाहरूलाई सरकारले उन्मुक्ति दिन नहुने भन्दै आक्रोश समेत व्यक्त गरिन् ।
पीडित खतिवडाले भने ‘एक लाख भन्दा बढी मानिस चाहिँ मिटरब्याज पीडित, भूमिहीन र अनुचित लेनदेन पर्नुभएको छ । हामी यहाँ मिटरब्याज पीडितले उनीहरुविरुद्ध उजुरी दिएका थियौँ । ठगहरूलाई नियन्त्रणमा लिने काम गरेकोमा नेपाल सरकार, नेपाल प्रहरी, जिल्ला अदालत काठमाडौंलगायतलाई हामी धन्यवाद समेत दिन चाहन्छौँ ।’
केही वर्षयता नेपालमा मिटरब्याज पीडितहरूले आफूहरूको न्यायको लागि सरकारलाई दोषी उपर कारबाही गर्न माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।









