समानुपातिक सूचीलाई लिएर रास्वपा कोशीमा असन्तुष्टि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ ले पार्टीले सिफारिस गरेको समानुपातिक सांसदको सूचीप्रति कडा असन्तुष्टि जनाएकी छन् । पार्टी नेतृत्वले कोशी प्रदेशको विशिष्ट भौगोलिक बनावट र जातीय क्लस्टरलाई बेवास्ता गरेको भन्दै उनले सार्वजनिक रूपमै आक्रोश पोखेकी हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष तामाङले पार्टीको ‘जान्नेलाई छान्ने’ नारा र व्यवहारबीच तालमेल नमिलेको टिप्पणी गरेकी छन् । उनले कोशीको पहाडी भूगोललाई उपेक्षा गरेर पठाइएको सूचीले आगामी दिनमा संगठन निर्माणमा गम्भीर असर पुर्याउन सक्ने चेतावनी समेत दिएकी छन् ।
विशेष गरी पार्टी स्थापनाको समयमा दुख गरेका र भुईँतहमा भिजेका व्यक्तित्वहरूलाई नेतृत्वले नजरअन्दाज गरेको उनको ठम्याइ छ । उनले लेखेकी छन्, ‘ओखलढुङ्गाको बगरहरूमा घण्टी बोकेर, सानो नानी च्यापेर रास्वपाको बीउ रोप्ने शोभा कार्की जस्ता उम्मेदवारको नाम किन परेन ? खोटाङकी चर्चित गायिका तथा बौद्धिक व्यक्तित्व सत्यकला राई र ताप्लेजुङकी मीरा लाबुङको नाम किन अटाउन सकेन ?’
पार्टीभित्रको आन्तरिक लोकतन्त्र र समावेशी चरित्रमाथि प्रश्न उठाउँदै तामाङले केन्द्रीय नेताहरूको वरपर रहेकाहरूले सही ढंगले ध्यानाकर्षण गराउन नसक्नु दुःखद भएको बताएकी छन् । उनले पार्टीले कोशीको भौगोलिक विविधता र जातीय सन्तुलनलाई सम्बोधन गर्न नसकेकोमा गम्भीर असहमति प्रकट गरेकी छन् ।
गत प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार हर्क साम्पाङसँग प्रतिस्पर्धा गरेकी तामाङ तत्कालीन प्रदेश अध्यक्ष राजेश तिम्सिनालाई कारबाही गरिएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारीमा छिन् ।









