सिके राउतले लिए संसदीय राजनीतिबाट सन्न्यास, पद त्यागे पनि ‘संघर्ष’ जारी राख्ने घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय (पदको) राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । चुनावी राजनीतिबाट टाढा रहने निर्णय गरे पनि उनले पार्टीको नेतृत्व र ‘संघर्षको राजनीति’ लाई भने निरन्तरता दिने स्पष्ट पारेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष राउतले आफू राजनीतिबाट हराउन खोजेको नभई भूमिका मात्र परिवर्तन गर्न लागेको बताएका छन् । ‘संसदीय राजनीतिबाट सन्यास लिने तर संघर्षको राजनीति जारी राख्ने मेरो निर्णय हो ,’ उनले लेखेका छन् , ‘पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउनेछु । म सार्वजनिक रूपमा प्रष्ट पार्न चाहन्छु कि म पदको राजनीतिबाट टाढा रहनेछु , तर यसको अर्थ राजनीतिबाट बीचमै हराएको होइन ।’

राजनीतिमा सक्रिय रहँदै आफ्ना सिद्धान्त र एजेण्डाका लागि जनताको सेवामा निरन्तर खटिने उनले प्रतिवद्धता जनाएका छन् । २०७९ सालको निर्वाचनबाट राष्ट्रिय राजनीतिको केन्द्रमा उदाएको जनमत पार्टीका लागि हालै सम्पन्न (२०८२ फागुन २१) को निर्वाचन सुखद रहेन । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ अध्यक्ष राउत आफैँ निर्वाचित भएका थिए भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर पार्टीले पाँच सिट सुरक्षित गरेको थियो ।

तर , यसपटकको निर्वाचनमा जनमत पार्टीले संसद्‌मा आफ्नो उपस्थिति शून्य बनाएको छ । अध्यक्ष राउत आफैँ सप्तरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादवसँग पराजित भए । पार्टीका अन्य कुनै पनि उम्मेदवारले जित निकाल्न सकेनन् भने समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटाउन असफल रह्यो । यही चुनावी असफलतापछि राउतले आफ्नो ध्यान अब आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा केन्द्रित गर्ने बताएका छन् । ‘जनमत पार्टीलाई आगामी चुनावका लागि बलियो शक्तिको रूपमा तयार पार्न म कटिबद्ध छु ,’ उनले उल्लेख गरेका छन् ।

अध्यक्ष राउतले आफू इच्छाले भन्दा पनि परिस्थिति र साथीहरूको आग्रहका कारण पार्टी नेतृत्वमा आएको दाबी गरेका छन् । राज्यले राजनीतिक गतिविधिमा रोक लगाएपछि विकल्पका रूपमा पार्टी खोल्नुपरेको स्मरण गर्दै उनले नेतृत्वका लागि आफूले अरूलाई नै प्रस्ताव गरेको जिकिर गरे । ‘पार्टीको नेतृत्व लिन नरेन्द्र प्रसाद चौधरीज्यू लगायतका साथीहरूलाई जनकपुरमा बोलाएर पटक–पटक आग्रह गरेको थिएँ ,’ उनले फेसबुकमा लेखेका छन् , ‘तर उहाँहरूले नमानेपछि बाध्य भएर म आफैँ अध्यक्ष बन्नुपरेको थियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =