एमाले धनकुटाको एक्सन : साँगुरीगढीकी उपाध्यक्ष मुना राई पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमाले धनकुटाले सांगठनिक अनुशासन उल्लंघन गरेको भन्दै साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र पार्टी हितविपरीतका गतिविधिमा संलग्न भएको ठहर गर्दै एमालेले उनीमाथि कारबाहीको डन्डा चलाएको हो ।

जिल्ला कमिटीको विस्तारित बैठकले राईलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेलले जानकारी दिए । निर्वाचनका बेला अन्तर्घात भएको विषयमा जिल्ला कमिटीमा व्यापक छलफल भएपछि उक्त निर्णय लिइएको उनले बताए । राई २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेकै तर्फबाट साँगुरीगढी गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।

यता, आफूमाथि गरिएको कारबाहीप्रति उपाध्यक्ष राईले भने औपचारिक जानकारी प्राप्त नभएको बताएकी छन् । उनले लामो समयदेखि आफूलाई कारबाहीको धम्की दिएर दबाब सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरिन् । यदि पार्टीले कारबाही नै गरेको हो भने त्यसलाई आफूले स्वाभाविक रूपमा लिने उनको प्रतिक्रिया छ ।

यसैबीच, निर्वाचनका क्रममा पार्टीभित्र बसेर विपक्षीलाई सघाउने अन्य कार्यकर्ताहरूको पहिचान र कारबाहीका लागि एमालेले थप कदम चालेको छ । सोही बैठकले नेता भीम राईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =