रेमिटेन्समाथिको निर्भरता हटाएर प्रवासी लगानीको वातावरण बनाउनुपर्छ: दीपक मल्होत्रा

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले रेमिटेन्समाथिको निर्भरतालाई कम गर्दै नेपालमा प्रवासी नेपालीहरूको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै उपाध्यक्ष मल्होत्राले रेमिटेन्सले देशको अर्थतन्त्र धाने पनि यसले मुख्यतया उपभोग मात्र बढाएको भन्दै अब उद्यमशीलता र औद्योगिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

मल्होत्राले आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा मात्रै नेपालले १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ (करिब ७.५ अर्ब डलर) रेमिटेन्स प्राप्त गरेको बताए । उनले यो अघिल्लो वर्षको तुलनामा ३९.१ प्रतिशतको वृद्धि भएको बताए । नेपाली श्रमिकहरू उच्च आय हुने मुलुकमा जानु, डलरको मजबुती, वित्तीय सेवाको डिजिटलीकरण र हुन्डी जस्ता अनौपचारिक माध्यमको नियन्त्रणका कारण रेमिटेन्स बढेको उनको भनाइ छ ।

प्रवासी नेपालीको लगानी भित्र्याउन नेपालले समग्र पारिस्थितिकी प्रणाली (इकोसिस्टम) विकास गर्नुपर्ने बताए । नीतिगत स्थायित्व र लगानी विश्वास, संस्थागत संयन्त्र, नवीन वित्तीय उपकरण, रणनीतिक लगानी क्षेत्रहरू (पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार) तथा ज्ञान हस्तान्तरण र उद्यमशीलतामा जोड दिए ।

उनले भने ‘रेमिटेन्सले अहिलेको अवस्थामा जीवनरेखा जस्तो भूमिका खेले पनि यो मात्र हाम्रो आर्थिक संलग्नताको स्थायी आधार बन्न सक्दैन । दिगो आर्थिक विकासको लक्ष्य बोकेको राष्ट्रका रूपमा नेपालले अब रेमिटेन्समा मात्र निर्भर रहने अवस्थाबाट अघि बढेर प्रवासी नेपालीहरूको पुँजीलाई उत्पादनमूलक आर्थिक विकासको इन्जिनमा रूपान्तरण गर्नुपर्छ । हामीले बारम्बार उठाउँदै आएको कुरा एकद्वार नीति हो । एकद्वार नीति नभएको कारणले एउटा अपार्टमेन्ट बनाउनलाई ८ ठाउँबाट अनुमति लिनुपर्छ र २ वर्ष कुर्नुपर्छ । यी सबै कुरालाई सरलीकरण गरेर अब आउने सरकार जिम्मेवार भएर अगाडि बढ्नेछ भन्ने हाम्रो विश्वास छ ।’

उपाध्यक्ष मल्होत्राले नेपालमा लगानीको वातावरण बिगार्ने मुख्य कारक झन्झटिलो प्रशासनिक प्रक्रिया रहेको बताए । उनले ‘एकद्वार प्रणाली’ को अभावमा लगानीकर्ताले सास्ती खेप्नुपरेको गुनासो गरे ।

विगत ३६ वर्षदेखि देशले राजनीतिक अस्थिरता भोगेको र कुनैपनि प्रधानमन्त्रीले ५ वर्ष सरकार चलाउन नसकेको स्मरण गर्दै मल्होत्राले वर्तमान सरकारबाट निजी क्षेत्र आशावादी रहेको बताए । झन्डै दुई तिहाइ बहुमतको नयाँ सरकारले देशमा राजनीतिक स्थायित्व दिने र थाँती रहेका आर्थिक विकासका कामहरू अघि बढाउनेमा उनले विश्वास व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्स लगानीमैत्री वातावरण निर्माण गर्न र प्रवासी लगानीकर्ता तथा स्वदेशी उद्यमीहरूबीच साझेदारी विस्तार गर्न प्रतिबद्ध रहेको बताउँदै उनले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न सरकारलाई आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =