नयाँ सरकारसँग सहकार्य गर्न बेलायत उत्साहित

काठमाडौं । नेपालमा हालै सम्पन्न आमनिर्वाचनबाट झण्डै दुईतिहाइ बहुमतसहित सत्ताको नेतृत्व सम्हाल्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्य गर्न संयुक्त अधिराज्य (यूके) सरकारले विशेष तत्परता देखाएको छ । बेलायती वैदेशिक, कमनवेल्थ तथा विकास मन्त्रालय (एफसिडिओ) मा बुधबार भएको उच्चस्तरीय भेटवार्तामा बेलायतले नेपालको नयाँ राजनीतिक नेतृत्वसँग काम गर्न आफूहरू उत्साहित रहेको जनाएको हो ।

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी र बेलायती वैदेशिक मामिला मन्त्री (इण्डो प्यासिफिक) सीमा मल्होत्राबीच भएको उक्त शिष्टाचार भेटवार्तामा द्विपक्षीय हित र साझा चासोका विविध आयाममा छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । करिब एक घण्टा चलेको उक्त संवादमा नेपालको बदलिँदो राजनीतिक परिदृश्य, व्यापार तथा लगानी प्रवर्द्धन, जलवायु परिवर्तनका चुनौती र सामाजिक-आर्थिक विकासमा बेलायती सहयोगका प्राथमिकताका बारेमा विस्तृत कुराकानी भएको थियो ।

भेटपछि कार्यवाहक राजदूत दुवाडीले भने, ‘नेपालको संसदमा सबैभन्दा ठूलो शक्तिका रूपमा उदाएको रास्वपा नेतृत्वको सरकारका प्राथमिकताहरूलाई बेलायतले नजिकबाट हेरिरहेको छ । नयाँ सरकारको भिजन र विकासका एजेन्डामा साझेदारी गर्न बेलायत निकै सकारात्मक देखिएको छ ।’

भेटका क्रममा कार्यवाहक राजदूत दुवाडीले ऐतिहासिक गोर्खा सैनिकका समस्या र उनीहरूका मागका विषयमा मन्त्री मल्होत्राको ध्यानाकर्षण गराएका थिए । उनले गोर्खा मुद्दाको दीर्घकालीन समाधानका लागि ठोस पहल गरिदिन आग्रह गर्दा मन्त्री मल्होत्राले यस विषयमा बेलायत सकारात्मक रहेको संकेत गरे ।

यसअघि पनि मन्त्री मल्होत्राले सामाजिक सञ्जालमार्फत नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै नेपालसँगको दुई शताब्दी लामो मित्रतालाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए । काठमाडौंस्थित बेलायती दूतावासले समेत विज्ञप्ति जारी गर्दै रास्वपाको चुनावी सफलतालाई ‘ऐतिहासिक’ भन्दै नयाँ सरकारसँग मैत्रीपूर्ण सम्बन्धको अर्को १०० वर्षका लागि जग बसाल्न तयार रहेको उल्लेख गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =